प्रचण्ड नेतृत्व सरकारको एक वर्ष पुरा,आज राष्ट्रका नाममा सम्बोधन गर्ने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको सरकारको आज एक वर्ष पूरा भएको छ । २०७९ पुस १० गते उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन। लगत्तै उने सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिबद्धता अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार कमजोर देखिएको छ । प्रधानमन्त्री प्रचण्ड आफैँले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन। पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड दुई महिनामै अर्को गठबन्धन बनाउन पुगेका थिए।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

साँझ पाँच बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले एक वर्षे कार्यकाल पूरा हुँदै गर्दा विशेष खुलासा गर्ने यसअघि सार्वजनिक कार्यक्रममार्फत बताएका थिए।

अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड क्याबिनेटका मन्त्रीहरूलाई एक महिनाको समय दिएर रिपोर्ट कार्ड माग्ने तयारीमा छन्। प्रधानमन्त्री प्रचण्ड मन्त्रीहरूको छुट्टाछुट्टै प्रगति विवरण लिइरहेका छन्।प्रचण्डको कार्यकक्षमा मन्त्री स्वयम् उपस्थित भएर प्रगतिविवरण प्रस्तुत गरिरहेका छन्।