हिटर प्रयोग गर्दा के के कुरामा ख्याल गर्ने

काठमाडौं /काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा विहानदेखि वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात समेत भएको छ ।

वर्षा र हिमपात भएसँगै चिसो बढ्दा न्यानोका लागि हिटर प्रयोग गर्दै हुनुहुन्छ भने केही महत्वपूर्ण कुरामा ख्याल राख्नुपर्छ ।

धेरैजसोले झ्यालढोका बन्द गरी हिटरको प्रयोग गर्छन्, जुन स्वास्थ्यका निम्ति घातक हुनसक्छ । बन्द कोठामा धेरैबेर हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस सिर्जना हुन्छ । यसले विशेषगरी बालबालिका र वृद्ध–वृद्धाको स्वास्थ्यमा बढी नै असर गर्छ ।

अर्कोतर्फ बन्द कोठामा हिटर बाली सुत्दा शरीरमा अक्सिजनको मात्रा घट्न गई मानिसको मृत्युसम्म हुनसक्छ । यसकारण सावधानी अपनाएर मात्र हिटरको प्रयोग गर्नुपर्छ ।

आज हामी हिटरको प्रयोग गर्दा अपनाउनुपर्ने केही सावधानीबारे चर्चा गर्दैछौं ।

  • बन्द कोठामा रातभर वा धेरैबेर हिटर प्रयोग नगर्नुहोस् ।
  • मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले सकेसम्म हिटरको प्रयोग गर्नुहुँदैन । गर्नैपरे सधैं एक बाल्टिन पानी राखेर झ्याल खुल्ला राख्नुहोस् ।

  • हिटरमा लामो समयसम्म बस्दा शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ, ख्याल गर्नुहोस् ।
  • हिटर प्रयोग गर्न सकेसम्म पावर कर्ड एक्सटेन्सन अर्थात मल्टिप्लग प्रयोग नगर्नुहोस् ।
  • दम, एलर्जी, पिनास, ब्रोन्काइटिसको समस्या भएका बिरामीका लागि बजारमा विशेष खालको हिटर पाइन्छ, यस विषयमा जानकारी लिएर मात्र हिटर खरिद गर्नुहोस् ।
  • हिटरलाई कहिल्यै पनि ढाकेर नराख्नुहोस् । यसबाट आगलागीको सम्भावना अधिक हुन्छ ।
  • यदि कोठामा हिटर चलिरहेको छ भने समय(समयमा पानी पिउनुहोस् । चिया, कफी वा सुप लिनु पनि राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।
  • आवतजावत भइरहने ठाउँमा हिटर नराख्नुहोस् । विशेषगरी बच्चाहरुको पहुँचबाट यसलाई टाढा राख्नुहोस् । समथर सतहमा हिटर राख्नु राम्रो हुन्छ ।
  • हिटर नजिकै जल्ने खालका कागज, ब्ल्यांकेटजस्ता सामग्री नराख्नुहोस् ।