किन खाइन्छ योमरी ?

नेवारी समुदायले आज योमरी पुन्ही मनाउँदैछन् । चामलको पिठोबाट बनेको परिकार योमरी हो । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ ।

नयाँ बालिका रूपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउँछन् ।

अण्डाकार रूपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।

पछिल्लो समय काठमाडौं उपत्यका योमरीको आर्कषण बढ्दै गएको छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र योमरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । यो पर्वमा चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यस वर्ष भित्र्याएको अन्नबाली, भकारी पूजा गर्ने चलन छ । त्यस्तै, भकारी पूजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ ।

यो दिनलाई लक्ष्मीपूजाको रूपमा मनाउने गरिन्छ । यसरी पूजा गरेमा वर्षभरी अन्न अभाव नहुने जनविश्वास छ ।

जाडोमा मास र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रूपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

काठमाडौं उपत्यकामा दसैंतिहारपछि विस्तारै जाडो बढ्न सुरु हुन्छ। पुस लाग्दै आउँदा जाडोको मात्रा पनि बढ्दै जान्छ।

सकिमना पुन्हीमा पिडालु र भुटेको गेडागुडी खाएर शरीरलाई चाहिने ऊर्जा र ताप लिएका नेवारहरु पुसमा बढ्ने जाडोबाट बच्न तथा शरीरलाई आवश्यक पर्ने ताप र ऊर्जा प्राप्त गर्न योमरी खान्छन्।

चिसो समयमा चाकु र तिलजस्तो गर्मी हुने खानेकुरा तात्तातो रोटीमा राखेर खाने चलन कुनै पनि किसिमले चाड वा संस्कृतिमात्र मान्न नसकिने संस्कृतिविदहरु को भनाइ छ ।