नेपालको शिक्षा प्रणाली कहाँ चुकेको छ ?

सन्दीप के.सी.
शिक्षा सास्त्र संकाय प्रमुख
सञ्जीवनी कलेज
शिक्षा समाज परिवर्तनको औजार हो । रुसी दार्शनिक भिगोत्स्कीका अनुसार शिक्षा आर्जनको मुख्य आधार समाज हो। उनै भिगोत्स्कीको निर्माणवादमा आधारित रचनावादी शिक्षा र सिकाइको प्रभावले सोभियत रुसको शिक्षामा ठूलो क्रान्ति ल्यायो। कुनै पनि परिस्थिती र समयमा समाज रुपान्तरणकालागि शिक्षालाई आधार मान्न सकिन्छ । राजनैतिक रुपान्तरण दीर्घकालिन नहुन सक्छ । राजनैतिक ब्यवस्था र प्रणालीहरु चीर स्थाई नहुन सक्छ । तर शिक्षा प्रणालीमा भएको परिवर्तनले पुस्तौं सम्म असर पार्दछ । कुनै पनि देशको शिक्षा प्रणाली त्यो देश र समाजको ऐना हो। ज्ञानको हस्तान्तरण घर, परिवार, समुदाय र समाजबाट हुने गर्दछ । समाजलले दिएको ज्ञान जिवन्त रचनात्मक र निर्माणात्मक अनि सिर्जनशिल हुन्छ। यसरी हेर्दा समाजले शिक्षा निर्धारण गर्दछ भने शिक्षाले समाज रुपान्तरण गर्दछ । अब हाम्रो देशको शिक्षा प्रणालीले के दियो र के दिएन वा हाम्रो शिक्षा प्रणाली समाजले सोचे जस्तै देशको आवश्यक्ता र विश्व परिवेश सुहाउँदो भयो त ? यसको चर्चा परिचर्चा बहसको विषय हुन सक्छ। विश्व बिध्यालयहरु खाली हुँदै जानु अनि बाहीरी मुलुकका शिक्षा हाम्रोलागि आकर्षणको केन्द्र बन्नुको कारणहरु के हुन् त ?अब चर्चासंगै सुधारको थालनी गर्न हतार भएको महसुस भै सकेको छ।
संसारका सबै देशले आफ्नो समाज, संस्कृति साँस्कृतिक अभ्यास, राजनितिक दर्शन लगायतका आधारहरुमा शिक्षाको स्वरुप निर्धारण गरेका हुन्छन् । कुनैपनि राज्यले आफ्नो देशको शिक्षाको नीति तथा उद्देश्यहरुको निर्धारण एवं पाठ्यक्रम निर्माण गर्दा निर्मीत पाठ्यक्रमको माध्यमद्वारा आफ्नो आवश्यक्ता अनुरुपका नागरिक उत्पादन गर्ने आधार बनाएका हुन्छन् । रुसमा भिगोत्स्कीको निर्माणबादमा आधारीत शिक्षा अमेरिकामा जोन डिवे, भारतमा महात्मा गान्धीका शिक्षा प्रणालीहरु प्रख्यात मानिन्छन। यता चीनमा माओत्से तुङ, मिश्रमा अब्दुल नासिर, युगोस्लोभियामा मार्सल टिटो जस्ता ब्यक्तिको शिक्षामा योगदान रहेको देखिन्छ। उनिहरुको शिक्षा प्रणली सुधार गर्ने मुल एजेण्डा स्वदेशी सीपमा आधारित शिक्षाको विकासमा जोड गरेको पाइन्छ ।
शिक्षालाई समाजको आवश्यकता अनुरुप विकास गर्न सकियो भने मात्र शिक्षाले समय सापेक्ष समाजको निर्माण गर्न सक्दछ। बिध्यालय तथा कलेजहरुहरु भनौं वा समग्र शैक्षिक संस्थाहरु समाजका प्रतिनिधी संस्था हुन् । यहाँ हुने गतिविधीले बालकको भविश्यमात्र निर्धारण गर्दैन बरु भोलीको समाज समेत सुनिश्चित गर्दछ । वास्तवमा हाम्रो शिक्षा प्रणालीले प्रदान गर्ने शिक्षा पाठ्यवस्तु कण्ठ गरेर प्रमाणपत्र आर्जन गर्ने माध्यम बनाइनु हुँदैन । हामिले प्रदान गर्ने शिक्षा बालबालिकाको आन्तरिक क्षमता प्रस्फुटन गर्ने रचनात्मक, सिर्जनात्मक हुनु जरुरी छ । त्यसैगरीहाम्रो पाठ्यक्रमले सीप मूलक एवं समाज सापेक्ष शिक्षालाई समेट्नु जरुरी देखिन्छ। अबको शिक्षा प्रणालिले भावि पुस्ताको तयारीगर्दा प्रत्येक व्यक्तिको व्यक्तित्व विकास गर्ने मौका प्रदान गर्नु पर्दछ ।
यतिबेला नेपालीहरुका लागि मात्र नभै विश्वमा नै अमेरिका र युरोपको शिक्षा पद्घतिलाई अनुकरणीय मानिन्छ। हाम्रो देशको शिक्षा व्यवहारिक हुन सकेको छैन यसको कारण शिक्षण सिकाइ वैज्ञानिक, सिर्जनात्मक, रचनात्मक, सरल एवं मौलिक हुन नसक्नु नै हो। शिक्षाले देश चिनाउनु पर्दछ र समाजको अनुहार झल्काउनु पर्दछ। तर हामी विदेशी विश्वबिध्यालयका सर्टिफिकेटहरुलाई मान्यता दिँदै उच्च तहमा समेत तिनै डिग्रीधारीहरुको बाहुल्यता कायम गराउँदै छौं । अब विदेशी माटोको गन्ध आउने शिक्षाले देशको मायाँ गर्ने शिक्षा प्रणाली कहिले फलाउन सक्ला ?हाम्रो परम्परावादी शास्त्रीय शैलीको शिक्षण सिकाइलाई मौलिक विधिमा बदल्न ढीला भैसकेको छ । अब रचनात्मक शिक्षण पद्धति मार्फत सिकारुलाई निराश हुनबाट जोगाएर ज्ञान आर्जनको भोक जगाउने कार्यमा जोड दिनु पर्छ। शिक्षकहरुले शिक्षण सिकाइमा परम्परावादी होइन, सहजकर्ताको भूमिकमा रहेर ब्यक्ति चाहना तथा रुचीलाई ध्यानदिन भुमिका खेल्नु पर्दछ । शिक्षाको माध्यमबाट हरेक व्यक्तिलाई समाजप्रति सकारात्मक र जीवनोपयोगी बनाउन सकिएन भने त्यस्तो शिक्षा निरर्थक हुन्छ ।