त्रिभुवन विश्वविद्यालय डेढ महिनादेखि निमित्तको भरमा
सरकारले उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्तिमा ढिलाइ गर्दा त्रिभुवन विश्वविद्यालय निमित्त पदाधिकारीको भरमा सञ्चालन हुने अवस्थामा पुगेको छ । डेढ महिनादेखि उपकुलपति र रेक्टरविहीन विश्वविद्यालयमा सोमबारदेखि रजिस्ट्रार पद पनि रिक्त भएको हो । दैनिक कामकाज चलाउन यी पदमा निमित्त तोकिएका छन् । त्रिवि सेवा आयोगको सदस्य पद पनि एक महिनादेखि रिक्त हुँदा आयोग पनि निष्प्रभावी बनेको छ ।
तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कात्तिक १६ मा सकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री अशोककुमार राईले उपकुलपति नियुक्तिको सट्टा कात्तिक १७ मा रेक्टर शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिए । भुसाल कात्तिक १९ मा ३ महिने उपकुलपतिमा पदबहाल भएपछि रेक्टर पद पनि रिक्त छ । कुलपतिसमेत रहेका दाहालले रेक्टरलाई ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् । सहकुलपति तथा शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिको सिफारिसका आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था त्रिवि ऐनमा छ ।
रेक्टर पद रिक्त भएपछि कृषि संकायका डिन भार्गव धिताललाई निमित्तको जिम्मेवारी दिइएको त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले जनाए । ‘रेक्टरले पूर्ण रूपमा उपकुलपतिको कार्यभार लिनुभएको छ,’ उनले भने, ‘रजिस्ट्रार पद पनि रिक्त छ । डिनहरूमध्येबाट एक जनालाई निमित्त दिने तयारी छ ।’ रजिस्ट्रार पेशल दाहाल ४ वर्षे कार्यकाल पूरा गरेर सोमबार बिदा भएका हुन् । सेवा आयोगका सदस्य हेमराज ढकालको कार्यकाल मंसिर पहिलो साता सकिएको थियो ।
ऐनको व्यवस्थाअनुसार शिक्षामन्त्री राईको संयोजकत्वमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य रहेको उपकुलपति सिफारिस समिति गठन भएको छ । प्रधानमन्त्री दाहालले कात्तिक २० मा सिफारिस समिति गठन गरे पनि हालसम्म उपकुलपति छनोट र सिफारिसको प्रक्रिया सुरु भएको छैन । प्रतिस्पर्धामा उपकुलपति छनोटका लागि कार्यविधि तयार पारिएको अधिकारीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।