एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौँमा बस्दैछ । कान्तिपुर गार्डेन, बालकुमारीमा ११ बजेबाट बैठक सुरु हुने छ ।

तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने महासचिव भुसालले बताएका छन । साथै प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिने पनि उनले बताए ।

आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने बताइएको छ । विधान संशोधनका लागि आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागिएको छ ।