रुसी सेनामा भर्ती भएका १०० जना नेपाली सम्पर्कविहीन

काठमाडौ/परराष्ट्रमन्त्री एनपी साउदले रुस(युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको र घाइते भएको उजुरी आएको बताएका छन्। परराष्ट्रमन्त्री साउदले करिब २ सय नेपाली रुसी सेनामा संलग्न भएको अनुमान रहेको पनि बताएका छन्।

रुसी सेनामा कार्यरत सयजना नेपालीका परिवारले उनीहरूको खोजबिन र स्वदेश फिर्ताको पहल गरिदिन भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । परराष्ट्रको कन्सुलर सेवा विभागमा सयजनाको विवरणसहित परिवारले निवेदन दिएका हुन् ।

‘घाइते भएको, बेपत्ता भएको भन्दै खोजबिनका लागि सयजना जतिका परिवारले निवेदन दिएका छन् । हामीले रुस सरकारसँग त्यसको वास्तविकताका सम्बन्धमा जवाफ मागेका छौँ, तर जानकारी पाइसकेका छैनौँ,’ मन्त्री साउदले भने, ‘निवेदनको आधारमा मात्रै पनि हामीले यति–उति भनेर यकिन गर्न सक्दैनौँ । तर, परिवारजनले परराष्ट्रमा जानकारी दिइरहेका छन् । यो संवेदनशील विषय भएको हुनाले रुस सरकारको आधिकारिक जानकारी आएपछि मात्रै यकिन भन्न सकिन्छ ।’ घाइते र बेपत्ताहरू रुस र युक्रेनमा कति छन् भन्ने यकिन छैन।

रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म सातजनाको मृत्यु भइसकेको छ । चारजना युक्रेनमा सैनिक नियन्त्रणमा रहेको औपचारिक जानकारी छ ।