संघर्षमा हार नमानेकी निर्मलाको सफलता

गोमा थापा
सीप सिकेर मिहेनतका साथ काम गर्न सके पैसा र प्रतिष्ठा कमाउन सकिन्छ भन्ने उदाहरण बनेकीछिन् बनेपा नगरपालिका वडा नम्बर ४ नाला शेराकी ५६ वर्षिया निर्मला श्रेष्ठ । उनी जन्मजातै पोलियोको कारण शारिरीक रुपमा अपांगता छिन् । ८ जना छोरीहरु र ४ जना छोराहरुमध्ये चौथो सन्तानको रुपमा जन्मिएकी निर्मलाले शारिरीक रुपमा अशक्त भएकै कारण पढ्न पाएकी थिइन् । उनी आफूलाई पोलियोले शारिरीक रुपमा अशक्त बनाएपनि अपांगता भएकै कारण पढ्ने अवसर पाएकोमा खुशी देखिन्छिन् ।

शिक्षा संकायमा मास्र्टस गरेकी निर्मलाले आफूलाई लामो समय शिक्षण पेसामा संलग्न बनाइन् । शिक्षण पेसाको साथसाथै समाजसेवा र राजनीतिमा पनि होमिन पुगिन् । गएको स्थानीय निर्वाचनमा बनेपा नगरपालिकाको उपप्रमुखमा उपबिजेता भएकी निर्मलाले २०५३ सालदेखि नै महिला जागरण समूह स्थापना गरेर महिलालाई उद्यममा जोडिरहेकी छिन् । महिला जागरण समूहले महिनाको पाँच रुपैया उठाएर बचत गर्न मात्रै होइन प्रौढ शिक्षा र उद्यमशीलतामा जोड्न निकै धेरै काम गर्ने गरेको बताउँछिन् ।

हक्की स्वभावकी निर्मलाले समूहमा मिलेर समाज परिवर्तनको लागि निकै संघर्ष गरिन् । त्यतिबेला महिला जागरण समूह मार्फत चेलिबेटी बेचबिखन रोक्न सचेतिकरण अभियान नै संचालन भयो । जाँड रक्सीको व्यापार बन्द गर्न र जुवा खाल भड्काउने काममा पनि यसै समूहले निकै क्रियाशिलता देखायो ।


उनकै सक्रियतामा २०५७ सालमा सहकारीको स्थापना गरि विभिन्न कृषि समूह बनाएर सामूहीक तरकारी खेती गरियो । नालालाई तरकारीको हब नै बनाएको त्यस समूहले राम्रो आम्दानी लिन सफल भयो । सहकारी मार्फत त्यहाँका महिलालाई सिलाई कटाई ,झोल साबुन बनाउने र कृषिका विभिन्न समूह बनाएर सीपमूलक तालिम दियो । त्यसबाट भएको लोभलाग्दो आम्दानीले सिंगो नाला गाउँको नै मुहार फेरियो ।


केही वर्ष अघि सहकारी मार्फत संचालित उद्योग समूहले संचालन गर्न नसके पछि समूहकी अध्यक्ष समेत रहेकी श्रेष्ठले पुरानो कारोबारलाई फछ्र्याैट गरी व्यक्तिगत रुपमा आफ्नै जग्गामा ४० लाख लगानी गरेर जागरण लप्सी क्याण्डी पाउँ भण्डार उद्योग सुरु गरेकी छिन् । यस उद्योगबाट स्थानीय उत्पादनलाई प्राथमिकता दिँनुका साथै रोजगार सिर्जना गन उद्देश्यले उक्त उद्योग साथी रामकुमारी श्रेष्ठसँगै निर्मलाले संचालन गर्दै आएकी छिन् ।

वार्षिक १५ लाख भन्दा धेरैको कारोबार हुने गरी उद्योगलाई पुनः क्रियाशील बनाइएको श्रेष्ठले बताइन् । उनले सीपलाई परिचालन गरि व्यवसाय शुरु गरेपनि बजारीकरणमा भने राज्यले सहयोग गर्नुपर्ने देखिन्छ ।

उनको उद्योगमा सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न स्थानबाट सिजनमा लप्सी संकलन गरी त्यसबाट उत्पादन गरिएको कच्चा पर्दाथलाई वर्षभरि नै तयारी समान उत्पादन गर्न मिल्ने गरी गोदाम गरिएको छ । निर्मला भन्छिन् लप्सी टिप्ने साधन नभएका कारण भने नजिकका लप्सी चाहेजति ल्याउन सकिएको छैन ।
सोलार डायर मार्फत धुलो समेत नजाने गरी सुकाईएको पाउँलाई प्याकिङमा पनि ध्यान दिइएको छ । १ सय ७५ ग्राम पाउँको एक सय रुपैया पर्ने गरी मूल्य राखिएको छ । उद्योग संचालन गर्दा अप्रत्यक्ष रुपमा धेरैलाई आर्र्थिक उपार्जनमा टेवा दिन सकिने निर्मलाको अनुभव छ ।


पाउँ तथा अचार उत्पादनका लागि दैनिक १० जनाले रोजगारको अवसर पाउने गरेका छन् । ती मध्ये पाउँ उत्पादन र अचारका लागि जानुका श्रेष्ठ , विनीता श्रेष्ठ र दिपक विकले नियमित काम गरिरहेका छन् । पाउँसँगै स्थानीय उत्पादन मुला, गाजर, काउली, तिते करेला लगायतको मिक्स अचार तथा मेथीको अलग अचार बनाउने गरिएको छ । यसरी निर्मला उद्यममा जोडिएपछि समाजले हेर्ने दृष्टिकोण र परिवारको छुट्टै आत्मिय साथ मिलेको बताउँछिन् । रोजगारी छैन भनेर गुनासो गर्दै बस्नुभन्दा निर्मलाले जस्तै सीप सिकेर आत्मनिर्भर हुन आवश्यक छ । आफ्नो सीप र क्षमताको सदुपयोग गर्दै निर्मला जस्तै व्यवसायिक बन्ने बाटो तर्फ अग्रसर हुन किन ढिलो गर्ने ?