धरानका मेयर हर्क साम्पाङको कार्यशैली अराजक र उद्दण्ड भएको ५ दलको निष्कर्ष

धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन् ।

धरानका प्रमुख साम्पांगले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पांग मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका हुन् ।

बिहीबार प्रेस संयुक्त प्रेस विज्ञप्ति जारी गदै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पांग विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत बताएका छन् ।

दलहरूले धरान उपमहानगर प्रमुखबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको बताएका छन् । उनीहरूले यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको ठहर गरेका छन् ।

दलहरूले उपमहानगरपालिकाको प्रमुखले आफ्नो कार्य कक्षको भित्तामा राखिएको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएको प्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् । धरानका प्रमुख साम्पांगले आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए ।