चिकित्सक संघको लोकसेवा आयोगलाई ध्यानाकर्षण
काठमाडौं /स्वास्थ्य सेवा तर्फ संघ प्रदेश तथा स्थानीय तहले गर्ने पदपूर्तिमा उमेर हद फरक फरक भएको बिषयमा नेपाल चिकित्सक संघले एक रुपता कायम गर्न लोकसेवा आयोगको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा गएको टोलीले लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो । ‘स्वास्थ्य सेवा ऐन २०५३ को परिच्छेद (३)को पदपूर्ति सम्वन्धी दफा १२ को उपदफा (ग) अनुसार सेवा प्रवेशको उमेर ४५ बर्ष कायम हुन आउँछ । अहिले संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ ले पनि स्वास्थ्य सेवा ऐन २०५३ को व्यवस्थालाई टेकेको छ । तर प्रदेश तहमा लिईने पदपूर्ति प्रक्रियामा पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष उमेर हद कायम गरिएको छ । यस्तो हुँदैन । संघीय कानूनसंग बाँझिने गरी प्रदेश कानून लागू हुन सक्दैन । त्यसैले एक रुपता कायम गरौँ भन्नका लागि गएका थियौँ,’ संघका अध्यक्ष डा. कार्कीले भन्नुभयो ।
प्रदेश लोक सेवा आयोगमा पनि स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीको उमेर हदका विषयमा एक रुपता कायम गर्ने र स्वास्थ्य सेवा ऐन बमोजिम उमेर हद ४५ बर्ष कायम गर्ने विषयमा ध्यानाकर्षण गराउने बताए । पछिल्लो समय प्रदेश लोक सेवा आयोगले खुलाएको विज्ञापनमा उमेर हद स्वास्थ्यमा पनि पुरुषको हकमा ३५ र महिलाको हकमा ४० तोकेको छ ।