काठमाडौ विश्वविद्यालयमा आयोजित ‘एकेडेमिया ईन्डष्ट्री मिट–२०२३’ मा कसले के भने ?

धुलिखेल÷काठमाडौ बिश्वविद्यालयले एकेडेमिया उद्योग बैठक आयोजना गरेको छ । सम्मेलनमा पुर्व प्रधानमन्त्री तथा अर्थमन्त्री, उद्योगसँग सम्वन्धित ब्यक्ति र शैक्षिक क्षेत्रका प्राध्यापकहरुले नेपालमा विश्वविद्यालय, उद्योग र सरकार बीचको समन्वय भए मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने निश्कर्ष निकालेका छन् ।

‘राजनीतिक अस्थिरता मुख्य कारण’
डा. बाबुराम भट्टराई, पुर्व प्रधानमन्त्री

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिमा नलागेको भए आफु पनि विश्वविद्यालयमै कार्यरत रहने चाहना भएको बताए । ‘म घुमीफिरी विश्वविद्यालय जस्ता शैक्षिक क्षेत्रमा नै आईपुगेको छु’–उनले भने–‘५० वर्ष पहिले इन्जिनियर भएको ब्यक्ति किन नेपालमा बस्यो होला ? अरु देश किन विकास भए ? हाम्रो देश किन विकास हुन सकेन ?’ औधोगिक क्रान्ति र राजनीतिक क्रान्ति सँगै भएकाले अन्य मुलुकको विकास भएको बताउँदै भट्टराईले नेपालमा दुबै क्रान्ति नभएकाले आफुहरुले राजनीतिक क्रान्ति पहिला शुरु गरेको बताए । ‘नेपालमा आर्थिक बृद्धिदर १० प्रतिशतबाट माथी गएको छैन । पञ्चायतकालमा पहिलो, काँग्रेसको सरकारका पालामा प्रजातन्त्र आए लगत्तै दोश्रो र केपी ओलीको नेतृत्वको सरकारको पालामा तेश्रो पटक आर्थिक बृद्धीदर भएको छ’– पुर्व प्रधानमन्त्री भट्टराईले भने–‘नेपालमा लगातार हुन नसकेको आर्थिक बृद्धीदरका लागि नीतिगत संयन्त्र परिवर्तन गरिनु आवश्यक छ । पञ्चायतलाई गलत भनिएको थियो । बहुदल आए पछि कुनै सरकार पाँच वर्ष टिक्यो ? राजनीतिक अस्थिरता मुलुकको पहिलो समस्या हो ।’
लोकतान्त्रिक स्थिरता नभएका कारण नेपालको विकास हुन नसकेको बताउँदै पुर्व प्रधानमन्त्री भट्टराईले विकसित भएका मुलुकमा राजनीतिक र लोकतान्त्रिक स्थिरता भएको बताए । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने निर्वाचन प्रणाली नहुँदासम्म मुलुकमा अस्थिरता कायम रहन्छ’–भट्टराईले भने–‘प्रजातन्त्र पछि गिरिजाप्रसाद कोईराला र केपी ओलीको सरकार तीन वर्ष भन्दा माथी कसको टिक्यो ? पाँच वर्षको कुरै नगरौ । अनि यस्तो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक स्थिरता सम्भव छ ?’ पुँजी, प्रविधी, श्रम अन्र्तराष्ट्रियकरण भएको बताउँदै उनले दुई देश भारत र चीन बीचको शक्ति सन्तुलन कायम राखिरहन चुनौती रहेको बताए । महाभारतको युद्धको कथा सुनाउँदै पुर्व प्रधानमन्त्री भट्टराईले नेपालको पछिल्लो अवस्थामा सबै मुकदर्शक भएको बताए ।

‘उद्योगसँग जोडिएर शिक्षामा लगानी गर्नु पर्छ’
पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

नेकपा एमालेका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा सरकारकै कारण युवाहरु विदेशिन बाध्य भएको बताए । ‘सरकारी कार्यालयहरुमा पाएको झन्झट र हैरानीबाट युवाहरुमा नैराश्यता छाएको छ’–पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने–‘निर्माणका लागि पैसा चाहिन्छ । शिक्षामा लगानी जति धेरै गरिन्छ त्यति धेरै शिक्षामा गुणस्तर निकाल्न सकिन्छ । सिप, ज्ञान र प्रविधीका लागि शिक्षामा लगानी महत्वपूर्ण हो ।’ शिक्षामा २० प्रतिशत लगानी आवश्यक रहेको बताउँदै पुर्व अर्थमन्त्री पाण्डेले भने–‘सरकार धेरै हुँदा उद्योगी ब्यवसायीले दुख पाए । करबाट नियन्त्रण गर्नुस । हरेक वर्ष लिने रजिस्ट्रेसन शुल्क करबाट लिनुसन । प्रत्येक कार्यालयमा नविकरणको झन्झटले सारा ब्यक्तिले दुख पाएका छन् ।’ ‘म अर्थमन्त्री हुँदा १७ प्रतिशत बजेट विनियोजन गरेको थिएँ । २० प्रतिशत बनाउने सोचमा थिएँ’–उनले भने–‘अहिले शिक्षामा १० प्रतिशत बजेट विनियोजन गरिएको छ । विश्वविद्यालयहरुले शिक्षाका लागि योजना सहितको बजेट र कार्यक्रम माग गर्नु पर्छ । उद्योगसँग जोडेर शिक्षाका कार्यक्रम लागु गरिनु पर्छ ।’

‘हामी बजारलाई चाहिने जनशक्ति दिन तयार छौं’
प्रा.डा.भोला थापा, उपकुलपति, काठमाडौ विश्वविद्यालय

काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले पछिल्लो पुस्ताले राजनीतिक ब्यक्तित्वहरु पछि प्राज्ञिक ब्यक्तिहरुलाई गाली गर्न थालेको बताए । ‘नेपालमा चिकित्सक शिक्षा आयोग आए पछि विद्यार्थीहरुको भर्ना दर ७० प्रतिशतमा झरेको थियो’– उपकुलपति थापाले भने–‘हाम्रो जस्तो विश्वविद्यालय चल्न सम्भव छ ?’ शिक्षा, उद्योग र सरकार बीचको समन्वय हुन सकेन भने हामीले खोजेको नेपालको समृद्ध सम्भव छैन ।’ ‘हामी केहि गर्छाै, गर्न सक्छौं तर सबै क्षेत्रको समन्वय र सहयोग आवश्यक छ’–उनले भने–‘के गर्दा मुलुकका हरेक क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ ? हामी तयार छौं । सम्वन्धित निकायहरुले धारणा सार्वजनिक गरुन ।’

‘शिक्षा नीति परिर्वतन गर्नुपर्छ’
सुरकृष्ण बैद्य, उपाध्यक्ष,नेपाल उद्योग बाणिज्य संघ

नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले नीजि क्षेत्र धरासयी हुँदै गएको बताए । नीतिगत समस्याका कारण नेपालमा उद्योग ब्यवसाय फस्टाउन नसकेको उनले बताए । ‘जुन क्षेत्रको नीति बन्छ त्यो नीतिका बारेमा सरोकारवाला निकायलाई जानकारी हुँदैन अनि कसरी कार्यान्वयन हुन सक्छ ?’–उपाध्यक्ष बैद्यले भने–‘नेपालमा उद्योग ब्यवसाय गर्न सक्ने अवस्था छैन । नीजि क्षेत्र निराश भएर हार खाईसकेको छ ।’ नेपालमा शिक्षा नीति नै परिवर्तन गर्नु आवश्यक रहेको बताउँदै बैद्यले विदेश जाने शिक्षालाई परिवर्तन गरेर नेपालमै उद्योग ब्यवसाय गर्ने खालको वातावरण र शिक्षा प्रदान गर्नु पर्ने बताए ।

‘उद्योगमा लगानीमैत्री नीति आवश्यक छ’
बाबुराम गौतम, महानिर्देशक, उद्योग विभाग

उद्योग विभागका निर्देशक बाबुराम गौतमले नेपालको पछिल्लो अवस्था, उद्योगहरुमा भएका समस्या, स्वदेशी तथा विदेशी लगानीका साथै अवसर र चुनौतीका बारेमा बताएका थिए । उद्योगमैत्री कानून, ऐन र नियम बन्ने क्रममा रहेकाले उद्योगहरुको संस्थागत विकासका लागि सरकारले वातावरण बनाउँदै गएको गौतमले बताए । ‘ब्यापार गर्न सजिलो तर उद्योग संचालन गर्न कठिन रहेछ’–उनले भने–‘उद्योगीलाई लगानी गर्ने वातावरण बनाउन, कर्जाको सहुलियत, नीतिलाई ब्यवहारीक बनाउन तथा आर्थिक नियम तथा कानूनहरुलाई सहजिकरण गर्न आवश्यक छ ।’ आयात ब्यवस्थापन, निर्यात प्रर्वद्धन लगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

‘सम्भावना भएर पनि रोएर बस्नु पर्ने अवस्था छ’
प्रा.डा.अच्युत वाग्ले, रजिस्ट्रार, काठमाडौ विश्वविद्यालय

रजिस्ट्रार प्रा.डा.अच्युत वाग्लेले जलवायु परिवर्तनका कारण नेपालमा असर परेको बताए । विश्वविद्यालयले मानव श्रोतको उत्पादन गर्ने र उद्योग तथा सरकारले रोजगार सिर्जना गरिदिने बुझाई मात्रै भएको बताउँदै रजिस्ट्रार वाग्लेले सरकार, उद्योग र विश्वविद्यालय बीचको सहकार्य र समन्वय हुन नसकेको बताए । ‘अहिले पैसाको चाङ माथी बसेर रोदन गरिरहेका छौं’–रजिस्ट्रार वाग्लेले भने–‘सम्भावना हुँदा हुदै रोएर बस्नु परेको अवस्था छ । नेपालको सबै प्रणाली ध्वस्त हुन थालेको छ । एकेडेमियाबाट हुने अनुसन्धान, ज्ञान र सिपबाट राष्ट्रले लाभ पाउने छ ।’

‘सरकार, शिक्षा क्षेत्र र उद्योगको समन्वय आवश्यक छ’
डा.राम लामा, संयोजक, औधोगिक कार्यक्रम, काठमाडौ विश्वविद्यालय

नेपालको शिक्षा प्रणाली र शैक्षिक उत्पादन नेपालको उद्योग सुहाउँदो नभएको भन्दै युवाहरु विदेशिने क्रम बढिरहेको अवस्थामा शैक्षिक क्षेत्र, उद्योग र सरकारको समन्वयमा हुन सक्ने उद्योगमैत्री नीति, लगानी, वातावरण, अवसर र रोजगारका बारेमा सरोकारवाला निकायले पुरा गर्नु पर्ने दायित्वका बारेमा छलफल गरिएको थियो । वर्तमान चुनौतीहरुका लागी समाधानको पहिचान गर्न, अनुसन्धान उद्योगलाई एकीकरण गरी बढावा दिन, औद्योगिक बिकासका लागि साझेदारी सँगै नीति निर्माण गर्ने लगायतका बिषयबस्तुका बारेमा छलफल भएको विश्वविद्यालयका औधोगिक कार्यक्रम संयोजक डा.राम लामाले बताए ।