काभ्रेको तीन पालिका सुगममा, अति दुर्गममा कुनै परेनन्

काभ्रे/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरको सबै स्थानीय तहलाई सुगम र दुर्गमको आधारमा वर्गीकरण गरेको छ । जस अन्तरगत काभ्रेका ३ पालिका सुगममा परेका छन् भने दुर्गममा ६ पालिका परेका छन् ।

मत्रालयको वर्गिकरण अनुसार बनेपा, धुलिखेल र पनौती नगरपालिका सुगममा परेका छन् भने खानीखोला गाउँपालिका, चौंरीदेउराली गाउँपालिका , तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिका दुर्गममा परेका छन् भने अन्य पालिकाहरु मध्यममा परेका छन् । जसमा पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिका रहेका छन् ।

मत्रालय सबै स्थानीय तहलाई चार वर्गमा बाडेको छ । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा राखिएको छ । प्रारम्भिक प्रतिवेदनमा १ सय ६२ अतिदुर्गम, २ सय १८ दुर्गम, २ सय ७५ मध्यम र ९८ सुगम वर्गमा परेका छन् । यो वर्गीकरणमा सबैभन्दा बढी २ सय ७५ स्थानीय तह मध्यम अर्थात् ग’ वर्गमा परेका छन् ।