अधिकार माग्न मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशको अधिकार हस्तान्तरण गर्न तयार रहेको प्रधानमन्त्रीको आश्वासन

मुख्यमन्त्रीहरुले संविधानअनुसार संघियता कार्यान्वयन गर्न अधिकार माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार हेटौंडामा अन्तर प्रदेश समन्वय बैठक गरेका ७ प्रदेशका मुख्यमन्त्रीमध्ये ६ जनाले शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन ।

मुख्यमन्त्रीहरुको टोलिमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी थिएनन। कार्यव्यस्तताका कारण मुख्यमन्त्री शाह हेटौंडाबाट शनिबार बिहान धनगढी फर्किएका छन् । हेटौंडा भेलाले गरेको ९ बुँदे निर्णयसहित आफुहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा मुख्यमन्त्रीहरुले हेटौंडा भेलाको ९ बुँदे ध्यानाकर्षण पत्रसहित गत असार १५ र १६ गते पोखरामा भएको बैठकको निर्णय कार्यान्वयन गर्न माग गरेको उनले बताए । भेटमा प्रधानमन्त्री प्रचण्डले आफू संघीयताप्रती प्रतिबद्ध रहेको बताउदै प्रदेशका अधिकार हस्तान्तरण गर्न तयार रहेको जानकारी गराएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि संघीय सरकारले आवस्यक काम थालिसकेको जानकारी पनि गराएको उनको भनाइ छ ।