केही मुक्तक
सूर्यप्रसाद लाकोजू
मेरो आँखामा रङ्गिन संसार बसायौ
मनभित्र मायाको भाव पनि पसायौ
देखाएको मात्रै हेर्ने सोझो मलाई
मीठा मीठा कुरा गरी फसायौ ।
श्यामश्वेतको होइन जमाना रङ्गिनको आयो
रङ्गिविरङ्गि यो जगतले रङ्गहिन सबै खायो
मैले त आफ्नो इमान पनि सकिन देखाउन
मानिसका सुन्दर लाग्ने झूट संसारभरि छायो ।
कति जल्छौ जल्नुको पनि सीमा हुन्छ
कति छल्छौ छल्नुको पनि सीमा हुन्छ
षडयन्त्रको तानाबाना बुन्दै सधैं
कति चल्छौ चल्नुको पनि सीमा हुन्छ ।
जहिल्यै स्वार्थको कनिका छर्दै हिंड्छौ
आफ्नै मात्र झोली सदैव भर्दै हिंड्छौ
घरभित्रको देउटालाई बृद्धाश्रम पठाएर
ढुङ्गोको देउतालाई पूजा गर्दै हिड्छौ ।
जहिले पनि आफ्नै मात्र स्वार्थको घडा भर्यौ
आफ्नो स्वार्थ पूरा गर्न हामीलाई सधैँ प्रयोग गर्यौ
निर्दोष हाम्रोमन लाई मतलबको पिँजडामा कैद गर्न
मुस्कुराउँदै जताततै गुलियो विष तिमीले छर्यौ ।
सुरुसुरुमा बाँच्नलाई भर माग्यौ तिमीले
बांचेपछि बस्नलाई घर माग्यौ तिमीले
माग्दा माग्दा अहिले त
मै आफैलाई भष्म गर्ने वर माग्यौ तिमीले ।
उकालो लगाउँछ, कहिले तल झार्छ मान्छे
सानो स्वार्थमा पनि वचन डेरा सार्छ मान्छे
मान्छे त्यस्ता हुन या समय त्यस्तै होरु
आफ्नो मात्र कुरा सधैं माथि पार्छ मान्छे ।
कति बस्छौ हेलाको विष पिएर
सद्भाव जति सबै अरुलाई दिएर
जति फाटेपनि मायाको लुगा
बाँचेका छौ तिमी धीरताले सिएर ।
विश्वासिलो मान्छेले नै भरोसा मेरो बालेपछि
स्वाभिमानको इज्जतमा आफ्नो हात हालेपछि
यो मन त डाको छोडी अवश्य नै रुन्छ
आफ्नो मनमा मेरा विरुध्द भुस्याहा कुकुर पालेपछि ।
स्वार्थ पूरा गर्न आफ्नो अरुलाई छल्नेहरू
जहिल्यै कुभलो गर्न षड्यन्त्र मात्रै रच्नेहरू
आफ्नो मात्रै भलो हुन्छ भन्ने नसोचे हुन्छ
खरानी हुन्छन अरुको प्रगतिमा जल्नेहरू ।
फूल झर्दा पनि सुवास छरेर झर्छन
सत्पुरुषले सदै भलाइको काम गर्छन
कुपात्र छन जो मनभरि विष जमाएर
जलेरै बस्छन अनि कुरा काट्दै मर्छन ।