काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २६ औं साधारण सभा
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २६ औं साधारण सभा सम्पन्न भएको छ । सभामा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभामा बोल्दै रजिष्ट्रार राधाकृष्ण खतिवडाले वागमती प्रदेशका २ सय २० भन्दा बढी सहकारीमा समस्या परेको भन्दै उजुरी आएको जानकारी दिएका छन । प्रदेशका ३ हजार २ सय ३८ सहकारी संस्था मध्ये २ सय २० भन्दा बढीमा समस्या रहेको भन्दै उजुरी आएको र ४० वटा सहकारीलाई बारवाही गरिएको उनको भनाई छ । सहकारी क्षेत्रमा देखिएको समस्यालाई सुद्धिकरण गर्ने समय आएको भन्दै उनले गल तगर्नेलाई कारवाही गरेर अभियानलाई निरन्तरता दिनुको विकल्प नभएको धारणा राखेका छन ।
राज्यले आफ्नोतर्फबाट काम गरिरहेको भन्दै रजिष्ट्रार खतिवडाले केहि गरेको छैन भन्ने भनाईमा सत्यता नरहेको बताए । यद्यपी राज्यप्रति अपेक्षा धेरै रहेकाले सहकारी नियमनको क्षेत्रमा राज्यको उपस्थिती कमजोर देखिएको उनले स्विकार गरेका छन । तर सधैं यो स्थिती नरहने उनको दाबी छ ।
केहि संस्थाले राज्य प्रशासनिक व्यवस्थापनको संक्रमणकालीन अवस्थालाई फाइदा उठाएर स्वच्छ विचार बोकेको सहकारी अभियानमा छिरेर ठगी धन्दा चलाएको उनको आरोप छ । ठगी गर्नेलाई कारवाहकिो प्रकृया सुरु गरेको समेत उनले बताए ।
वागमती प्रदेशमा सहकारी रजिष्ट्रारको कार्यालय सञ्चालनको अन्तिम तयारी भइरहेको पनि उनले जानकारी दिएका छन् । त्यसका लागि २१ जनाको दरबन्दी स्विकृत भएको उनले बताए । संख्याको हिसावमा, शेयर पुँजी, ऋण लागनी, बचतको हिसावमा बागमती प्रदेशले एक तिहाई हिस्सा ओगटेको उनले जानकारी दिए ।
जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य धुर्वराज विष्ट, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, संचालक सदस्य कृष्णप्रसाद तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, सल्लाहकार रामहरी केसी, इन्द्रप्रसाद अधिकारी, तिर्थमाया प्रधान, प्रदिप थापा, नवराज बडाल, शम्भुलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । साधारण सभाकै अवसर पारेर अधिकतम बचत कारोवार, ऋण कारोवार गर्ने संस्थालाई सम्मान गरिएको छ ।उग्रचण्डी साकोस, अटल साकोस, बनेपा साकोस, शैलुङगेश्वर साकोसलाई सम्मान गरिएको हो । यस्तै अधिकतम शेयर खरिद गर्ने बेथानचोक नारी चेतना साकोस र अधिकतम बचत कारोवार गर्ने बनेपा नारी चेतना साकोसलाई सम्मान गरिएको छ ।
यस्तै उत्कृष्ट दुई जना व्यवस्थापकलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा पुरुषतर्फ मनकामना बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल र महिला तर्फ आयाम बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत सविना पन्त छन् । यस्तै कार्यालय सहयोगी पदमा कार्यरत अमृता नेपाल सापकोटा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएकी छन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उदयराम कायस्थले सहकारी संस्थाको विकास, प्रवद्र्धन, तथा संवद्र्धन गर्दै बहस पैरवी गरी सहकारीको मुल्य, मान्यता, सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्ध संस्था निर्माणका लागि संघ क्रियाशिल रहेको बताए । विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दीले समग्र अर्थतन्त्रमा प्रभाव पर्नुका साथै त्यसको ठुलो असर सहकारी संस्थाहरुमा देखा परेको बताएका छन् । समुदायमा आधारित भई सदस्य केन्द्रित संस्थाहरुमा भने मन्दीको प्रभाव अन्य संस्थाको तुलनामा कम परेको उनको भनाई छ । मन्दीमा सहकारी संस्थामा देखिएको तरलता संकटबाट सदस्य संस्थाहरुलाई बचाउन ५ करोड रुपैयाँको तरलता व्यवस्थापन कोष खडा गरिएको पनि उनले जानकारी दिए । संघले संस्थागत र जनशक्ति विकासका कार्यक्रम समेत सञ्चालन गर्दै आएको उनले बताएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघमा ८ करोड ३७ लाख ६३ हजार शेयर पुँजी रहेको छ भने ६ करोड ६१ लाख १४ हजार ५ सय ८१ रुपैयाँको साधारण जगेडा कोष रहेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले राखेका थिए । यस्तै सचिव सुरेन्द्रप्रसाद पौडेलले प्रगतती प्रतिवेदन, कोषाध्यक्ष जीवन श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शिव प्रसाद आचार्यले सभामा प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन सह–सचिव विकास बादेले गरेका थिए ।