आइजिपी कुँवरले गरे रविन्द्र केसीद्वारा लिखित कथा संग्रह सम्बन्धको दोबाटो विमोचन

काठमाडौ ÷ प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित सम्बन्धको दोबाटो नामक कथा संग्रह विमोचन गरेका छन् । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा आइजिपी कुँवरले उक्त कथा संग्रह विमोचन गरेका हुन् ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै आइजिपी कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधाजस्तो लागेतापनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने चर्चा गर्दै नागरिक सेवामा खटिँदा देखेको र भोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपुर सुगन्ध पस्केको उल्लेख गरे ।
महानिरिक्षक कुंवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवद्र्धन गर्ने क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताए ।
नेपाल प्रहरीका अग्रज सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथा संग्रह लोकार्पणगर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।
उक्त अवसरमा डा.धुर्व चन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्यकर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गरेका थिए । त्यसै गरी राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, अवकाशप्राप्त एवं बहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकारहरू लगायतको उपस्थिति रहेको थियो ।