सरकारका वेबसाइट डाउन
काठमाडौं / सोमबार सबैजसो सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् ।
डीएनएस सर्भमा डीडोस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस) अट्याक आएकाले सरकारी वेबसाइट नखुलेको पाइएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी प्रवीण चौहानले डीएनएस सर्भरमा डिडस अट्याक आउँदा सरकारी वेबसाइट प्रभावित भएको जानकारी दिए ।
आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायत सिंहदरबारमा रहेका सबै कार्यालयको वेबसाइट डाउन भएसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरू समस्या सुल्झाउन खटिएका छन् ।
सिंहदरबार बाहिर रहेका अन्य सरकारी कार्यालय, विभाग लगायतको समेत वेबसाइट डाउन भएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइट भने खुलिरहेको छ ।
यसबाहेक, अध्यागमन, अख्तियार लगायत सबैजसो सरकारी कार्यालयको वेबसाइट डाउन भएको छ । सरकारी वेबसाइट डाउन हुने प्रक्रिया नौलो भने होइन । यसअघि पनि पटक–पटक वेबसाइट डाउन हुँदा सेवाग्राहीले सास्ती बेहोर्ने गरेका थिए ।