आज दिनभर के–के भयो ?

बालकुमारी घटनामा मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति
सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १÷१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन, सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति भएको छ । मृतक वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । मृतकका परिवारले सोमबार नै शव बुझ्ने र शबलाई सम्बन्धित जिल्लामा पु¥याउने प्रबन्ध गृह मन्त्रालयले नै गर्ने सहमति भएको छ । १३ पुसमा ललितपुरको बालकुमारी स्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

अर्थतन्त्रमा सुधार नआएको ’सर्भे’ को निष्कर्ष
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आएको धेरै पटक दाबी गरे पनि एक सर्वेक्षणले अर्थतन्त्रमासुधार नआएको देखाएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले गरेको एक सर्वेक्षणले समग्र बजार माग र उत्पादन नै खस्किएकाले अर्थतन्त्र मन्दीमा गइरहेको देखाएको हो । सर्भेका अनुसार उद्योगहरूको समग्र मागमा यो वर्षको पहिलो तीन महिनामा झन्डै ३६ प्रतिशतले कमी आएको छ । यस्तै उपभोग लगातार घटेपछि ५४ प्रतिशत उद्योगी व्यावसायीले व्यवसाय विस्तारको योजना त्यागेका छन् । यस्तै कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको, उद्योगको कच्चा पदार्थको आयातमा समेत निकै कमी आएको देखिन्छ । यसैगरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्षको तीन महिनामा २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको तीन महिनामा थप सात दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ । अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गएको वर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो जुन चालु वर्षसमेत यथावत् रहेको देखिएको छ ।

नेपालका दलहरू मिलेको देखेर विदेशी छक्क पर्छनः देउवा
नेपाली कांग्रेसका सभापति सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एकअर्काप्रति कडा प्रतिष्पर्धाकाबीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताएका छन । मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । सभापति देउवाले नेपालका राजनीतिक दलहरूको मेलमिलाप देखेर विदेशबाट आउने व्यक्तिहरु छक्क पर्ने गरेको बताए । उनले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए । सभापति देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको पनि बताएका छन ।

कांग्रेसभित्र तरङ्ग ल्याउने पक्षमा एमाले छैन ः केपी शर्मा ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आज सोमवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसभित्र कुनै राजनीतिक तरङ्ग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गरेका हुन । कांग्रेस सत्ताको अमनचयनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको उनको भनाइ थियो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला ’भ्यु टावर’ बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो भनी प्रश्नसमेत गरेका छन ।

बालकुमारी घटनाः २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन
बालकुमारी घटनाका सन्दर्भमा संसदीय समितिले सरकारका २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानविन गर्न निर्देशन दिएको हो । बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामहरि खतिवडाले श्रम मन्त्री र यातायात मन्त्रीको भूमिकामाथि छानविन गर्न निर्देशन दिएको बताए । त्यस्तै समितिले ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका विरेन्द्र शाह र सुजन रावतका परिवारलाई थप क्षतिपूर्ति दिन र दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको उनले बताए । समितिले घटनामा सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बनमा पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिएको छ ।

जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प
जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । जापानले देशको मध्य क्षेत्रमा गएको भूकम्पका कारण ठूलो सुनामी जान सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । इशिकावाको तटीय क्षेत्रका बासिन्दालाई तत्कालै सुरक्षित ठाउँमा जान भनिएको छ । यस्तै निगाता र तोयामा प्रान्तमा पनि सुनामीको चेतावनी जारी भएको छ ।