अंग्रेजी नयाँ वर्षको पहिलो कूटनीतिक भ्रमण भारतबाट हुँदै

अंग्रेजी नयाँ वर्षको पहिलो कूटनीतिक भ्रमण भारतबाट हुँदै छ। भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउँदै छन्। उनी दुई दिनसम्म नेपालमा रहने छन् । नेपाल–भारत संयुक्त आयोगको ७औं बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू हुने स्रोतको भनाइ छ।

भारतीय विदेशमन्त्रीको भ्रमणमा १० हजार मेगावाटको दीर्घकालीन विद्युत् खरिद सम्झौता ९पीपीए० मा अन्तिम हस्ताक्षर हुने एजेन्डा रहेको बताइएको छ। चितवनमा बस्ने ११औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकले यसलाई अन्तिमरूप दिने स्रोतले बताएको छ। संयुक्त निर्देशक समितिको बैठक हरेक ६ महिनामा बस्ने गर्छ। दीर्घकालीन पीपीए कार्यान्वयनमा लैजानका लागि दुई देशबीचका सचिवहरूबीच सम्झौता हुन बाँकी छ।

गत जेठको अन्तिम साता नै दीर्घकालीन पीपीएका लागि नेपाल–भारतबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसपछि भदौमा दीर्घकालीन पीपीएको भारतको मन्त्रिपरिषद्बाट पनि अनुमोदन भइसकेको छ। गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा ऊर्जा व्यापारमा ठूलो उपलब्धि भएको बताइएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगत्तै नेपाली अधिकारीहरूले दीर्घकालीन पीपीएको मस्यौदा भारत समक्ष पेस गरेको थियो।