कानूनले बर्जित गरेको उमेर समुहमा धेरै विवाह

गोमा थापा
जिल्लाको विकट पालिका महाभारत, खानिखोला, तेमाल, रोशी, चौरीदेउराली, भुम्लु, बेथान्चोक गाउँपालिकामा बाल विवाहको डरलाग्दो तथ्याङ्क देखा पर्न थालेको छ । खानिखोला र महाभारतमा बर्षेनी एक सय भन्दा धेरै बालबालिकाहरुले विवाह गर्ने गरेको प्रारम्भिक तथ्याङ्क विद्यालयहरुले तयार गरेका छन् । 
कानुनले बर्जित गरेको २० वर्ष भन्दा कम उमेर समुहमा धेरै ब्यक्तिहरुको विवाह हुने गरेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाईने कानूनमा ब्यवस्था भए पनि जिल्लामा त्यहि उमेर भन्दा कम उमेर समुहमा विवाह गर्नेहरुको ६२ प्रतिशत रहेको छ । अझै पनि १० वर्ष भन्दा कम उमेरमा विवाह भएका ब्यक्तिहरुको संख्या कुल जनसंख्याको १ प्रतिशत छ भन् १० भन्दा माथी १४ भन्दा कम उमेर समुहमा विवाह गर्नेहरुको सख्या ८ प्रतिशत छ । जिल्लाको महाभारत र खानिखोला गाउँपालिकामा यो उमेर समुहमा विवाह गर्नेहरु धेरै छन् । १५ देखि १७ वर्ष उमेर समुहमा विवाह गर्नेहरुको संख्या २१ प्रतिशत छ भने १८ देखि २० वर्ष भित्र विवाह गर्नेहरुको संख्या ३२ प्रतिशत छ । २१ देखि २४ वर्षसम्म विवाह गर्नेहरुको संख्या २३ प्रतिशत छ । २५ देखि २९ सम्म विवाह गर्नेहरु ११ प्रतिशत छन् । ३० वर्ष उमेर कटाएर विवाह गर्नेहरुको सख्या ४ प्रतिशत छ । काभ्रेमा ३ लाख ६४ हजार ३९ जनसंख्या रहेको छ । 
शहरी क्षेत्रमा बालविवाहको संख्या कम भए पनि ग्रामिण भेगमा बढिरहेको बालविवाहको तथ्याङ्क प्रति स्वयम बालबालिका र अभिभावकलाई जिम्मेवार बनाउने अभियान पालिकाहरुले शुरु गरेका छन् । ‘चालु आर्थिक वर्षमा महाभारत गाउँपालिकाले हरेक आधारभुत विद्यालयमा बाल विवाह न्यूनीकरणका लागि सचेतनामुलक नाटक, गित र नृत्यका साथै प्रहरी मार्फत कानूनी ज्ञान र त्यसका असरका बारेमा जानकारी गराएका छौं’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘अभियान शुरु भएका केहि वर्ष देखि बालविवाह गर्नेहरुको संख्या कम भए पनि मोवाईलको प्रयोग, गरिवी, चेतनाको अभाव तथा विविध कारणबाट बालविवाह रोक्न सकिएको छैन ।’ खानिखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग ‘छिन्ताङ’ ले बालविवाह न्यूनिकरणका लागि पालिका भित्रका अधिकांश विद्यालयहरुमा सडक नाटक प्रस्तुत गरेको बताउनु भयो । ‘विद्यालयमा अभिभावक र बाललिबाहरु दुबैलाई संगै राखेर बाल विवाह गर्दा कानूनी, आर्थिक, सामाजिक र स्वास्थ्यका हिसावले हुन सक्ने संकटका बारेमा जानकारी गरायौं’– अध्यक्ष इन्द्रबहादुर थिङ्गले भन्नुभयो–‘८ हजार भन्दा धेरै ब्यक्तिहरुले नाटक हेर्नु भयो । नाटक हेरेकै भोलिपल्ट दुई जना बालबालिकाहरु विवाह गरेर भागेको सूचना पालिकामा आयो ।’ 
बालविवाह रोक्न चालिएका कदम प्रभावकारी बनाउँदै केहि वर्ष भित्र शुन्यमा पु¥याउने महाभारत र खानिखोला गाउँपालिकाको अभियानमा स्वंयम बालबालिका र अभिभावक सचेत बनाउने गरी चेतनामुलक कार्यक्रम गरिएको जनप्रतिधिहरुले बताएका छन् । महाभारत गाउँपालिकाले २०७९ को कक्षा ८ को परिक्षालाई पालिका स्तरको बनाउँदै परिक्षा केन्द्रहरु तोकेरै विद्यार्थीहरुलाई गुणस्तरका बारेमा समेत जग बलियो बनाउने उदेश्यले आयोजना गरेको थियो । कक्षा ८ मा पालिका भित्र रहेका भैरव मावी, गोकुले मावी, कालिदेवी मावी, जनकल्याण मावी, गौलेश्वरी, ग्रामोन्नती, सिद्धेश्वर, ज्योती, जनकल्याण आधारभुत, भैरवेश्वर र गौरीश्वरीमा गरी ६ सय ३० जना बालबालिकाहरु भर्ना भएका थिए । कक्षा ८ मा भर्ना भएका मध्ये ५ सय ४५ जना विद्यार्थी मात्रै अन्तिम परिक्षामा सहभागि भए । ८५ जना बालबालिकाहरु परिक्षामा सहभागि नभए पछि शिक्षकहरुले उनिहरुको खोजी गर्दा ४० प्रतिशत विवाह गरेर गईसकेको तथ्याङ्क प्राप्त गरे भने केहि कामको खोजीमा भट्टामा, कोहि अन्यत्र मजदुरीका लागि गएको र केहि आर्थिक अभावका कारण विद्यालय आउन छाडेको तथ्याङ्क फेला प¥यो । कक्षा ८ सम्म पुग्ने बालबालिकाहरु विवाह गरेर जान थालेको तथ्यांक प्राप्त भए पछि पालिकाले यसलाई गम्भिर रुपमा लिदै शिक्षाको गुणस्तर र चेतना बढाउने गरी आगामी शैक्षिक सत्रको कार्यक्रम प्रभावकारी बनाउने योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत हरि सिं विष्टले जानकारी गराउनु भयो । 
सोहि पालिकाको गोकुले स्थित गोकुले मावीमा अध्ययनरत विद्यार्थीहरु मध्ये शैक्षिक सत्र २०७९ मा मात्रै कक्षा ६ अध्ययन गर्ने दुई जना, कक्षा १० मा अध्ययन गर्ने ३ जना, कक्षा ११ का ३ जना र कक्षा १२ का ४ जना बालिकाहरुले विवाह गरे । सामाजिक विषयका शिक्षक मोहनदास श्रेष्ठले विद्यालयमा बाल विवाह सम्वन्धी पाठ पढाएको मात्रै नभई सचेतनामुलक अभियान पनि संचालन भईरहेको बताउनु भयो । ‘कक्षा ६ र ७ को सामाजीक विषयमा सामाजिक विकृति अन्र्तगत ‘बाल विवाह’ सम्वन्धी पाठ बालबालिकाहरुलाई पढाईने गरिएको छ’–शिक्षक मोहनदास श्रेष्ठले भन्नुभयो–‘बालविवाह रोक्न प्रयत्न भयो सफल हुन सकिएन ।’ अभिभावक, बालबालिका आफै र आफन्त सचेत नहुँदासम्म विद्यालय र समुदाय एक्लैले बालविवाह रोक्न नसकिने प्रधानाध्यापक पदम तिमल्सिनाले बताउनु भयो । कक्षा ६ देखि गोकुले मावीमा अध्ययन गरिरहेकी कक्षा १२ मा अध्ययनरत छात्रा शर्मिला मोक्तानले आफुसँगैका साथीहरु विवाह गरेर गएको बताउनु भयो । ‘भौगोलिक अवस्थाका कारण कक्षा ६ देखि डेरा लिएर बसिरहेको छु । गोकुले माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरी डेरा लिएर बसेको ६ वर्ष भयो । कक्षा १२ पढिरहँदा म सँगै अध्ययन गर्ने तीन जना साथीहरु त कक्षा १० सम्म पनि नपढी विवाह गरेर गईसकेका छन् । केहिले आर्थिक अभावका कारण बीचमै अध्ययन छाडेका छन्’– विद्यार्थी शर्मिला मोक्तानले भन्नुभयो । 
विकट पालिकामा विद्यार्थीहरु बीचमै अध्ययन छाड्ने र बालविवाह गर्ने समस्या बलियो बन्दै गएको तथ्यहरुले देखाएको जनप्रतिनिधिहरुले बताएका छन् । काभ्रेको धुलिखेल र पनौती बालमैत्री नगर घोषणा भईसकेका छन् भने केहि प्रकृयामा छन् । 
उमेर समुह अनुसार विवाहितहरुको संख्या 
उमेर समुह प्रतिशत
१० वर्ष भन्दा कम १ प्रतिशत
१०–१४ वर्ष सम्म ८ प्रतिशत
१५–१७ वर्षसम्म २१ प्रतिशत
१८–२० वर्षसम्म ३२ प्रतिशत
२१–२४ वर्षसम्म २३ प्रतिशत
२५–२९ वर्षसम्म ११ प्रतिशत
३० वर्ष भन्दा माथी ४ प्रतिशत
(श्रोतः २०७८ को जनगणना)