आज दिनभर के–के भयो ?

बालकुमारी घटनामा आफुलाई दोषी देखाउन खोजिएको भन्दै प्रधानमन्त्रीसँग मन्त्री ज्वालाको गुनासो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा आफूलाई दोषीका रुपमा देखाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा गृहमन्त्री र प्रहरी प्रमुखले मन्त्रीको गाडी नपुगेको भए परिस्थिति त्यस्तो नहुने बताएका थिए । त्यसको भोलिपल्ट मंगलबार बिहान आफ्नो पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाललाई लिएर मन्त्री ज्वाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

उनले गृहमन्त्रीले दोषजति आफूतिर सोझ्याएर जोगिन खोजेको गुनासो गरेका थिए । ईपीएस कोरिया शाखाका कारण विवाद उत्पन्न भएको र सुरक्षा व्यवस्थामा भएको कमजोरीका कारण दुर्घटना हुन पुगेको मन्त्री ज्वालाले बताएका छन् । प्रदर्शनकारीले रोकेपछि आफूहरु गाडी छाडेर आएको र सुरक्षा निकायले त्यसको सुरक्षा गर्न नसकेको मन्त्री ज्वालाले बताए । यसमा जिम्मेवार निकायले आफूलाई देखाएर कमजोरी लुकाउन खोजेको उनको गुनासो छ ।

शुक्रबारको घटनापछि मृतकका परिवारलाई संवादमा ल्याउने र सहमति गराएर परिस्थितिलाई सामान्यीकरण गर्न आफूले भूमिका खेलेको भए पनि राज्य व्यवस्थामा घटना आफूतिर सोझ्याउन खोजेको मन्त्री ज्वालाले गुनासो गरेका छन ।

कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले गाली बेइज्जती मुद्दा

आफ्नो मानप्रतिष्ठामा आघात पु¥याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन्स विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । उनले वारेसमार्फत मंगलबार जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दर्ता गराएका हुन् । सहकारीको ऋण, टेलिभिजन कम्पनीमा भएको लगानी र आफ्नो संलग्नताबारे झुटो विवरण प्रकाशित गरेर आफ्नो प्रतिष्ठामा आँच पु¥याउने काम गरेको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।

लामिछानेले कान्तिपुर पब्लिकेसन्स, इकान्तिपुर डट कम, कान्तिपुर दैनिकका साथै पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, प्रधान सम्पादक उमेश चौहानलाई विपक्षी बनाएका छन् ।

रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु, मृतकको संख्या १० पुग्यो

रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको बताए ।

मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रहेका छन् । योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन् । उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको छ । मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरूङको सम्बन्धमा हालसम्म कुनै पनि आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन ।

गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ । परराष्ट्रमन्त्री एनपी साउदीले रुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन आफूहरुलाई प्राप्त भएको सार्वजनिक रूपमै बताइसकेका छन् । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ना हुन नेपालका करिब २०० जना भर्ना हुन गएको उल्लेख गरेका छन् ।

राष्ट्रियसभा चुनावमा एमालेलाई पनि समेटेर लैजाने प्रधानमन्त्रीको संकेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ११ माघमा हुने राष्ट्रियसभा चुनावमा एमालेलाई पनि समेटेर लैजाने संकेत गरेका छन् । राष्ट्रियसभामा रिक्त हुने १९ सिटमध्ये केही सिटमा एमालेलाई पनि समेट्ने प्रधानमन्त्री प्रचण्डको रणनीति छ । त्यसमा एमाले अध्यक्ष केपी ओलीले पनि ’ग्रीन सिग्नल’ दिएको माओवादी स्रोतको दाबी छ ।

सत्ता गठबन्धन मिलेर चुनावमा गए एमालेले अहिलेको ९ सिट गुमाउँदै १९ सिटमा कुनै पनि जित्ने अवस्था आउँदैन । ती सबै सिट गुमाउनुभन्दा सत्ता गठबन्धनसँग मिलेर केही सिट लिनु राम्रो हुने एमालेभित्र पनि चर्चा हुन थालेको छ । राष्ट्रियसभाका ९ सिट गुमाउँदै गरेको एमालेसँग कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी मिलेर चुनाव लड्दा एमालेको अवस्था शून्य हुन्छ । यस्तो अवस्थामा मिलेर एमालेलाई पनि केही सिट दिएर सहमति गर्ने गरी छलफल चलिरहेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई निकै पर धकेल्नेभन्दा पनि केही सिट दिएर नजिकमा राख्दा संक्रमणकालीन न्याय टुंगो लगाउन सहज हुने रणनीतिमा रहेको पनि माओवादी नेताहरूको भनाइ छ । उनीहरूका अनुसार एमालेलाई धेरै टाढा पुग्न नदिनकै लागि विगतमा संसदीय समितिका तीनवटा समिति सभापति दिएको र सर्वोच्च अदालतको न्यायाधीशमा एक जना एमालेनिकट वकिललाई सिफारिस गरिएको छ ।

पछिल्ला दिनमा एमाले र माओवादी केन्द्रका नेताहरूबीच चर्को आलोचना पनि कम हुन थालेको छ । प्रचण्डका केही कदममा एमाले अध्यक्ष ओलीले मौन समर्थन गरेका छन् । तिहारको सम्मुखमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयमा ओलीले मौन समर्थन गरेका थिए । यस्तै टीआरसी विधेयक अगाडि बढाउन अनौपचारिक रूपमा सहमति जनाएका छन् । साथै, ओलीले हालैको बालकुमारी घटनामा पनि सरकारको चर्को आलोचना गरेका छैनन् ।

 

बालकुमारी घटना स्वाभाविक नभएको माओवादी केन्द्रको प्रारम्भिक निष्कर्ष

नेकपा माओवादी केन्द्रले बालकुमारी घटना स्वाभाविक नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले घटना रहस्यमय जस्तो देखिएको बताए ।

घटनाको छानबीनका लागि आयोग गठन भएको र विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ भन्दै उनले यो धेरै ग्म्भीर विषय भएको बताए । घटनालाई रूप र सारमा हेर्नुपर्ने तथा जनतामा आक्रोश हुनु स्वाभाविक भएपनि गोली नै चल्नुपर्ने स्थिति नआउनुपर्ने उनले बताए । यो घटना अस्वाभाविक र रहस्यमय रहेको सापकोटाको दाबी छ ।

उनले उत्तेजना फैलाए जस्तो रहेको भन्दै स्वाभाविक जस्तो नदेखिएको बताए । हिजोमात्रै माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हिजो एक कार्यक्रममा बोल्दै घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गरेका थिए । शुक्रबार ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । माओवादी केन्द्रले ‘जनतासँग विशेष रूपान्तरण अभियान’ ले नागरिकमा आशा पलाएको दाबी पनि गरेको छ ।

प्रवक्ता सापकोटाले चार महिने अभियानले पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गर्नुभयो । उहाँले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनर्गठन गरेको बताए । प्रवक्ता सापकोटाले अभियानले कार्यकर्तामा जागृति ल्याएको, चुनावको बेलामा मात्रै नभई माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे । अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढाउन उल्लेखनीय भूमिका खेलेको उनको भनाइ थियो ।

मेयर बालेन शाहले गरे काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् । छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको मेयरको सचिवालय स्रोतले जनाएको छ ।

महानगरपालिका स्रोतका अनुसार महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशंका छ । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी समेत यो प्रकरणमा जोडिएपछि मेयर आफैंले यसको छानबिन थालेका छन् । स्रोतका अनुसार कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि उनीहरु छानबिनमा तानिएका हुन् । सो स्वास्थ्य प्रवद्र्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेकामा यसवर्ष सहायता बन्द भएको थियो ।

सेवा सञ्चालन गरिराख्न कार्यपालिका बैठकले ५ जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, निर्णय लेखिँदा संख्या थप भएपछि मेयर शाहले नै यसबारे छानबिन थालेका हुन् । १९ नम्बर वडाका वडाध्यक्ष राजेशकुमार श्रेष्ठले ५ जना मात्रै कर्मचारीलाई निरन्तरता दिन प्रस्ताव गरिएको र कार्यपालिकाले पनि त्यही निर्णय गरेको बताए । महानगरका प्रवक्ता नवीन मानन्धरले स्वास्थ्य प्रवद्र्धन शाखासम्बन्धी विषय छानबिनकै क्रममा रहेकाले यसबारे बोल्न नमिल्ने बताएका छन् ।

नेपालको अवस्था संवेदनशील भएको भन्दै कोरिया चिन्तित

नेपालको अवस्था संवेदनशील बन्दै गएको भन्दै कोरिया सरकारले नेपालीको रोजगारीबारे चिन्ता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीसँग आज मङ्गलवार भएको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्क टी योङले गएको शुक्रवार भएको घटनामा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिएका थिए ।

सँगै उनले नेपाललाई कोरियाले प्राथमिकतामा राख्दा राख्दै पनि यहाँको अवस्था संवेदनशील बनेको भन्दै चिन्ता व्यक्त गरेका मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले जानकारी दिएका छन ।

मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तश्विर राख्ने प्रयास असफल

धरानका मेयर हर्क साम्पाङ र राजनीतिक दलका भ्रातृ संगठनबीच भएको वार्ता बिफल भएपछि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नटाँसी दलहरु फर्किएका छन् । ३ दिनको अल्टिमेटम दिँदै भ्रातृ संगठनका नेता तथा कार्यकर्ता फर्किएका हुन् । उनीहरुले ३ दिन भित्रमा मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तश्विर नराखे आफैं आएर टाँस्ने चेतावनी दिएका छन् ।

युवा संघ सुनसरीका उपाध्यक्ष प्रमोज्ञ भट्टराईले ३ दिनको अल्टिमेटम दिएर फर्किएको बताए । कांग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी संगठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेका थिए ।

जापान भूकम्पः ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुग्यो

जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ । इशिकावाको प्रकोप मुख्यालयले अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको बताएको बीबीसीले जनाएको छ । झन्डै एक हजार उद्धारकर्ताले भूकम्पबाट ढलेका संरचनाको भग्नावशेषमुनि खोजी तथा उद्धारको काम गरिरहेका छन् ।

प्रधानमन्त्री फुमियो किशिदाले पत्रकार सम्मेलन गरेर खोज र उद्धारको काम चलिरहेको जानकारी गराएका छन । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसहित मन्त्रीहरू निलो रङ्गको पोसाकमा उपस्थित भएका थिए । जसको अर्थ सरकार सङ्कटसँग जुधिरहेको छ भन्ने हुन्छ । हिजो सोमवार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।