बनेपा नगरपालिकाको निशुल्क दन्त स्वास्थ्य शिविर आजबाट शुरु

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा जेष्ठ नागरिकलाई लक्षित निशुल्क दन्त शिविर आजबाट शुरु भएको छ ।
बनेपा नगरपालिकाको १४ वटै वडामा संचालन हुने शिविर आज वडा नं.१ बाट शुरु भएको हो । ६० बर्षभन्दा माथिका दाँतमा समस्या भएका सम्पुर्ण जेष्ठ नगरवासीलाई कृतिम दाँत राख्ने प्रयोजनका लागी दन्त स्वास्थ्य शिबिर प्रत्येक वडामा एक दिन संचालन हुनेछ । दाँतका समस्या भएका जेष्ठ नागरिकले निशुल्क दन्त शिविरमा उपचार गराउन सकिने नगरपालिकाले जनाएको छ । शिविर बनेपामा रहेको सुप्रिम डेन्टल र समाज डेन्टलको प्राविधिक सहयोगमा डा.विप्लब अधिकारी, डा. रोशनी श्रेष्ठले चेकजाँच गरिरहेका छन् ।

शिबिरको उद्घाटन गर्दे नगर प्रमुख शान्ति रत्न शाक्यले जेष्ठ नगरबासीहरुका अनुहारमा हासो ल्याउनका लागि उक्त शिबिर शुरु गरिएको बताए । नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि मेयरसँग नगर स्वास्थ्य कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान भएका ६० बर्ष भन्दा माथिका सबै नागरिकको निशुल्क दाँत राख्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिए । चापागाईका अनुसार, पहिचानका लागि नगरपालिकाले सबै वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्र र बनेपा आधारभुत नगर अस्पतालमा दन्त स्वास्थ्य शिविर गरिने बताए ।

नगरपालिकाले यो शिविर अघि रेयुकाइ आखाँ अस्पतालको समन्वयमा मोतिविन्दुको निशुल्क अप्रेशन, महिलाको पाठेघर मुखको जाँच, लगायत विभिन्न स्वास्थ्य शिबिर संचालन गर्दै आएको नरग प्रमुख शाक्यले बताए । कार्यक्रममा उप प्रमुख विमला सापकोटाले महिलासँग उपमेयर कार्यक्रम अन्र्तगत महिलाहरुको क्षमता अभिबृद्धि र नेतृत्व विकासका तालिम, सिप विकास तालिम प्रदान गर्दै आएको बताईन् ।

आजको दन्त स्थास्थ्य शिबिर कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, स्वास्थ्य शाखा प्रमुख महेश्वर श्रेष्ठ, लगाएतको सहभागिता रहेको थियो । शिविर आगामी माघ ७ गतेसम्म संचालन हुनेछ ।