चितुवाले मारेको भनिएका वृद्धाको हत्या भएको खुल्याे
बनेपा/ काभ्रेमा चितुवाले मारिएको आशंका गरिएको एक वृद्धाको हत्या भएको खुलेको छ। गत मंसिर ३० गते मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देमा स्थानीय ६५ वर्षीया कान्छी दमाई मृत भेटिएकी थिइन्। टाउकोमा कोतरेको जस्तो घाउ देखिएकोले चितुवाले आक्रमण गरेको अनुमान प्रहरीको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार जंगली जनावरको आक्रमणले उनको मृत्यु भएको भन्दै प्रहरीलाई खबर भएको थियो। ‘टाउकोमा कोतरिएको जस्तो घाउ थियो, जसले गर्दा चितुवाले टोकेको हो कि भन्ने जस्तो देखिन्थ्यो,’ उनले भने।
प्रहरीले त्यसदिन मुचुल्का गरी शव पोष्टमर्टमको लागि धुलिखेल अस्पतालमा पठाएको थियो।
अस्पतालबाट पोष्टमर्टम रिपोर्टमा हत्याको कारण( ब्लन्ट फोर्स इन्जुरी भन्ने आयो। अर्थात् कुनै साह्रो वस्तुले टाउकोमा प्रहार गरेर मृत्यु भएको भन्ने तथ्य रिपोर्टबाट खुलेको हो।घटना शंकास्पद रहेको खुलेसँगै प्रहरीले पनि अर्को तथ्य फेला पार्यो। मृतक कान्छीको कानमा रहेको दुई वटा सुनका मुन्द्रा पनि हराइरहेका थिए।
गहना हराएको खुलेसँगै प्रहरीले स्थानीय सुन पलसहरूमा सम्पर्क गरेको थियो। सुन पसलेहरूसँग कुराकानी गर्दै जाँदा एक जना व्यक्ति सुन बेच्न आएको कुरा प्रहरीले थाहा पायो। डिएसपी श्रेष्ठका अनुसार एउटा सुन पसलमा मृतकको छिमेकी व्यक्ति दुईवटा मुन्द्रा बेच्न भनेर पुगेका थिए।
उनी वडा नम्बर १० बस्ने १७ वर्षीय किशोर हुन्। उनलाई प्रहरीले गत शुक्रबार नियन्त्रणमा लिइसकेको छ।