सहयोगी मनहरुको उदाहरणीय अभियानः कुरा होइन काम गरौं
जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र धनेश्वर मन्दिर परिसर सरसफाई गरिएको छ । सहयोगी मनहरुको आयोजना, बनेपा नगरपालिका वडा नम्बर ११ र पनौती नगरपालिका वडा नम्बर ५ को समन्वय एवं स्थानीयको सहयोगमा मन्दिर परिसर सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शिव थापा, सहयोगी मनहरुका अध्यक्ष मिरा चापागाँई पौडेल, समाजसेवी रामप्रसाद अधिकारी, रमेश पौडेल, सहकुल थापा, जीवन थापा, सहयोगी मनहरुको उपाध्यक्ष देवलक्ष्मी स्याउला, सचिव गंगा श्रेष्ठ, कोषाध्यक्ष शुशिला सुवाल र सह–सचिव रिता तामाङ लगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा बनेपा नगरपालिका वडा नम्बर ११ ले २० वटा झाडु र १० वटा डस्विन सहयोग गरेको छ । यस्तै पनौती नगरपालिका वडा नम्बर ५ ले मास्क, पञ्जा उपलब्ध गराएको छ । आफैं स्वतस्फुर्त रुपमा समाजसेवा गर्दै आइरहेको महयोगीमनहरुले पहिलोपटक सहयोग लिएको हो ।
सहयोग नमागी आफैं स्वतस्फुर्त सहयोग गर्ने कार्य अनुकरणीय रहेको समाजसेवी सहकुल थापाले बताए । उनले १० सेट एप्रोन सहयोगको घोषणा गरेका छन् । यस्तै शिक्षासेवी रामप्रसाद अधिकारीले महिला सशक्तिकरणका साथै समस्या पर्दा सहयोग गर्ने सहयोगी मनहरुको अभियान महत्वपुर्ण रहेको बताए । असल कार्यको सुरुवात गरेको भन्दै उनले खुसी व्यक्त गरेका छन् । धर्म, संस्कृतिको जगर्ने गर्ने पवित्र उदेश्यका साथ सुरु भएको अभियानमा आफु पनि सहभागी हुन पाएको भन्दै उनले आभार व्यक्त गरे । मठ, मन्दिर पाटी–पौवा धर्मशालाको संरक्षणमा अभियानले सघाउ पुग्ने उनको विश्वास छ ।
आजनै सहगोगी मनहरुको समुहले क्यान्सरसँग जुधिरहेकी लक्ष्मी श्रेष्ठलाई खाद्यान्न, लत्ताकपडा समेत उपलब्ध गराएको छ । कुरा होइन, काम गरौं, सेवा गरी पुण्य कमाऔं भन्ने नाराका मिरा पौडेलको संयोजकत्वमा १० जना महिलाले अभियान सुरु गरेका हुन् । अभियान अन्तर्गत पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको टौखाल पोखरी पार्क सरसफाई, कुशन बनाउने तालिम सञ्चालन, मठमन्दिर, स्तुपा सरसफाई लगायतका कार्यक्रम गर्दै आइएको अध्यक्ष पौडेलले जानकारी दिइन् । यस्तै पनौती नगरपालिका वडा नम्बर ४ संगको सहकार्यमा मनोपरामर्श कार्यक्रम, सामुदायिक साकोससँगको सहकार्यमा तरकारी खेती तालिम समेत प्रदान गरिएको उनले जानकारी दिएकी छन ।
हरेक महिना २ सय रुपैयाँका दरले सदस्यबाट संकलन हुने रकमले सामाजिक कार्य गर्दै आइरहेको अध्यक्ष पौडेलले बताइन् । अरुले गरेनन् भन्दै दोष मात्रै लगाउने तर आफु केहि नगर्ने प्रवृत्तिको अन्त्यका लागि अभियान सुरु गरिएको उनको भनाई छ ।