आज दिनभर के–के भयो ?

सत्ता गठबन्धन बैठक बिना निष्कर्ष सकियो, बिहीबार फेरि बस्ने
राष्ट्रिय सभा निर्वाचनमा सिट संख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बोलाउनुभएको बैठक पनि निष्कर्षविहीन बनेको हो ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीले आफूसँग राष्ट्रिय सभामा आफूहरु जिरो नबनाउन आग्रह गरेको कुरा प्रश्तुत गर्नुभएको र त्यसमा एमालेसँग ठोस प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उहाँले सो विषयमा सत्तारुढ दलहरुबीच कुनै सहमति नभएकाले भोलि (बिहीबार) बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरिएको पनि बताउनुभयो ।बैठकमा प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालमा हुन लागेको भ्रमण र त्यसमा नेपाल सरकारले गर्ने छलफलको एजेण्डाको बारेमा पनि बिफ्रिङ गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरु सहभागी हुनुभएको थियो ।
राष्ट्रिय सभा निर्वाचन नजिकिँदै, दलहरु सिट बाँडफाँडको दौडधूपमा
आगामी फागुण २० गते पछि रिक्त हुने राष्ट्रिय सभाका २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । पुष २३ गते हुने मनोनयनको तिथि नजिकिएसँगै दलहरु उम्मेदवार टुंगो लगाउने दौडमा छन् । तर पछिल्लो पटक विकसित राजनीतिक घटना क्रमले प्रमुख दलहरुले राष्ट्रियसभाका सिट भागवण्डा गर्ने संभावना प्रवल बनेको छ ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिनासहित २० सांसदको पदावधि फागुन २० गतेबाट सकिने छ । पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जनता समाजवादीका १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनित एमाले कोटाकी विमला राई पौड्याल छन् ।पदावधी सकीनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सिटका लागि निर्वाचन गर्ने तयारी गरेको हो । विभिन्न क्लस्टरमा निर्वाचन गरिने छ । कोशी, मधेश र लुम्बिनीमा एक एक महिला र अन्य १ गरी २–२ पदमा चुनाव हुनेछ । यस्तै बागमतीमा एक महिला, दलित १, अपांगता भएका वा अल्पसंख्यकबाट १ गरी कूल चार पदमा चुनाव हुनेछ । गण्डकीमा महिला १, अल्पसंख्य १ र अन्य १ गरी ३ सिटका लागि चुनाव हुने छ भने कर्णालीमा महिला १, दलित १ र अन्य १ गरी ३ सिटमा चुनाव हुने छ । यस्तै, सुदूरपश्चिममा महिला १, अपांगता भएका वा अल्पसंख्यकबाट १ र अन्य १ गरी कूल तीन सिटमा चुनाव हुने छ ।
विपिन जोशीको सकुशल रिहाइका लागि सभामुखको अनुरोध
सभामुख देवराज घिमिरेले आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गरेका छन्।नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उनले निर्दोष जोशीको रिहाइका निम्ति अनुरोध गरे। राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिएका सभामुखको सचिवालयले जनाएको छ। त्यस अवसरमा नेपाल–इजरायल सम्बन्धका विविध पक्षका साथै कृषि क्षेत्रको विकासबारे पनि छलफल भएको थियो । गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियोभने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ। उक्त दिनपछि इजरायलले गाजापट्टीमा जारी राखेको आतङ्कवादीविरुद्धको सैन्य कारबाहीमा २२ हजार एक सय ८५ जनाको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति
न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बसेको बैठकले न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।उच्च अदालनको न्यायाधीशमा नियुक्ति पाउनेहरुमा जिल्ला न्यायाधीशबाट २६ जना, कानुन व्यावसायीबाट ९ जना र कर्मचारीबाट चार जना रहेका छन् । यसैगरी न्याय परिषद् बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा पनि गरेको छ । दलीय भागवण्डा मिलेपछि न्याय परिषदले न्यायाधीश नियुक्त गरेको हो ।
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा नौ हजार एक सय ६६ जना विदेशी पर्यटक भित्रिएका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।यस वर्ष अहिलेसम्मकै सर्वाधिक विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा आइपुगे’, प्रमुख शेरचनले भन्नुभयो, ‘पछिल्लो समय यस क्षेत्र पर्यटकको अत्यधिक रोजाइमा पर्न थालेको छ ।’ सन् २०२२ मा यस क्षेत्रमा छ हजार एक सय दुई विदेशी पर्यटकले भ्रमण गरेका थिए ।यसअघि सन् २०१९ मा सात हजार पाँच सय ५५ जनाले, सन् २०१८ मा सात हजार छ सय ५४ जनाले भ्रमण गरेकामा कोरोना सङ्क्रमणका कारण सन् २०२० मा तीन सय ३७ र सन् २०२१ मा नौ सय २५ जनाले मात्र मनास्लु क्षेत्र भ्रमण गरेका कार्यालय प्रमुख शेरचनले जानकारी दिनुभयो । विश्वमाझ चर्चा कमाउँदै गएको यस क्षेत्रमा सन् २०२४ मा १२ हजार विदेशी पर्यटकले घुम्न आउने अनुमान गरिएको उहाँको भनाइ थियो ।
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट फेला
छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ। भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन्। उनले नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए।मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको छ।कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ।
भारतका विदेश मन्त्री बिहीबार नेपाल आउँदै
भारतका विदेश मन्त्री एस। जयशंकर बिहीबार नेपाल आउँदै छन् । नेपाल र भारतका विदेशमन्त्री स्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।दुई दिने बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको क्रममा नेपाल९भारत मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता हुने तयारी छ ।उनले नेपाली समकक्षी एनपी साउदसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम छ ।प्रधानमन्त्री भएपछि ‘प्रचण्ड’सँग उनको पहिलो भेट हुने भएको छ । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’सँग उनको भेट भएको थिएन ।बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्नेछ परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनी शुक्रबार भारत फर्किने कार्यक्रम छ ।