भारतलाई १० हजार मेगावाट विद्युत् बेच्न सम्झौता हुँदै
काठमाडौं/ नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणका क्रममा दीर्घकालीन पीपीएमा हस्ताक्षर हुन लागेको हो।
नेपाल–भारत विद्युत् खरिद सम्झौता ९पीपीए० हुने निश्चित भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए। परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरको उपस्थितिमा ऊर्जा सचिव गोपाल सिग्देल र समकक्षी पंकज अग्रवालले दीर्घकालीन पीपीएमा हस्ताक्षर गर्दै छन्। त्यसको समय भने तय नभएको प्रवक्ता सिंहले बताए।
दीर्घकालीन पीपीए भए २५ वर्षका लागि नेपालले भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बेच्न पाउनेछ। अहिले भारतले करिब ५२२ मेगावाटको विद्युत् निर्यातको स्वीकृति दिएको छ, जुन हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठमा भएको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगत्तै नेपाली अधिकारीहरूले दीर्घकालीन पीपीएको मस्यौदा भारतलाई पठाएका थिए। गत जेठको अन्तिम साता नै दीर्घकालीन पीपीएका लागि नेपाल–भारतबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको छ। त्यसपछि भदौमा दीर्घकालीन पीपीए गर्ने भनेर भारतको मन्त्रिपरिषद्बाट पनि अनुमोदन भइसकेको छ।
भारतीय विदेशमन्त्रीको भ्रमणको समयमा ३ प्रसारणलाइनको पनि संयुक्त उद्घाटन हुने ऊर्जा मन्त्रालयका प्रवक्ता सिंहले जानकारी दिए। विहारसँग जोडिएका रक्सौल–परवानीपुर र कुशाहा–कटैया १३२ केभी प्रसारणलाइनको दोस्रो सर्किटको उद्घाटन हुने छ भने र मैनिया–न्यू नौतनवा १३२ केभी लाइनको उद्घाटन हुनेछ।