सेयर किन्ने र बेच्नेको ठेगाना पत्ता नलाग्दा अघि बढ्न सकेन एनसेलविरुद्धको मुद्दा

सेयर किन्ने र बेच्नेको ठेगाना पत्ता नलाग्दा उच्च अदालत पाटनमा एनसेलको सेयर खरिद–बिक्रीविरुद्धको मुद्दा लम्बिएको छ ।
अदालतले एनसेल खरिद–बिक्रीसम्बन्धी रिटमा आजियाटा र स्पेक्ट्रलाइट युकेलाई समेत छलफलका लागि बोलाउने आदेश दिएको थियो । तर, म्याद तामेल गर्न ठेगाना भेट्नै नसकेपछि यो मुद्दा लम्बिएको हो ।
न्यायाधीश सुदर्शनदेव भट्ट र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले दुवै पक्षलाई २५ पुसका लागि छलफलका लागि बोलाएको छ । गत २ पुसमा अदालतले आजियाटा र स्पेक्ट्रलाइट युकेको नाममा राष्ट्रिय दैनिक अखबारमा सूचना जारी गर्न आदेश दिएको थियो । जसअनुसार दुई कम्पनीको नाममा ‘द राइजिङ नेपाल’मा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सार्वजनिक सूचना आह्वान गरिएको थियो । तर, कम्पनीहरूको जानकारी यकिन नभएकाले सुनुवाइ हुन नसकेको अदालतको आदेशमा उल्लेख छ ।
आजियाटाको वेबसाइटमा उल्लेखित इमेल ठेगानामा पत्राचार गर्ने स्पेक्ट्रलाइट युकेको नाममा पुनः अखबारमा सूचना जारी गर्न अदालतले आदेश दिएको छ । त्यस्तै, अन्तरिम आदेश छलफलका लागि आगामी २५ पुसमा दुवै पक्षलाई अदालतमा बोलाएको उल्लेख छ । गत २१ मंसिरमा अदालतले छलफलको टुंगो नलागेसम्म एनसेल खरिद–बिक्री दर्ता नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई अन्तरिम आदेश दिएको थियो । म्याद तामेल हुन सक्दा एनसेलको मुद्दा थप लम्बिने देखिएको हो ।
आजियाटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो नाममा रहेको सम्पूर्ण ८० प्रतिशत हिस्सा बेलायतको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गर्ने विषय सार्वजनिक भएपछि यो विवादमा परेको छ । आजियाटाले वक्तव्य जारी गर्दै स्पेक्ट्रलाइटसँग एनसेलको सेयर ‘खरिद–बिक्री सम्झौता’ भइसकेको सार्वजनिक गरिसकेको छ । तर, नियामक निकायले यस सम्बन्धमा जानकारी नभएको उल्लेख गरेपछि यो विषय थप विवादमा परेको हो ।