भारतलाई १० हजार मेगावाट विद्युत् बेच्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं/ नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको हो ।
ऊर्जा मन्त्रालयका अनुसार सम्झौतामा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।
नेपाल र भारतबिच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले अन्तिमरुप पाएपछि भने बिजुलीलाई वस्तु जस्तै किनबेच गर्न सकिनेछ । हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ । यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।
यसबाहेक, जयशंकरको भ्रमणका क्रममा तीन वटा प्रसारणलाईन समेत उद्घाटन हुनेछ।