चोरबाटो प्रयोग गर्दै टिपर, नियमविपरित दौडिने टिपरले सास्ती दिएको स्थानीयको गुनासो

 

पनौती । काठमाडौं उपत्यका प्रवेश गर्नका लागि काभ्रेका टिपरले चोरबाटो प्रयोग गर्ने गरेको पाइएको छ । पनौती नगरपालिका वडा नम्बर १, २ र ३ स्थित पनौती–कुशादेवी–रयाले–मानेदोभान सडकमा नियमविपरित टिपर दौडिने गरेको स्थानीयले बताएका छन् । उक्त सडकमा क्षमताभन्दा बढी निर्माण सामाग्री बोकेर जुनसुकै समयमा तिव्र गतिमा टिपर हुइकिने गरेका छन् । टिपरकै कारण स्थानीयले सास्ती खेप्न परेको भन्दै राष्ट्रिय युवा संघ नेपाल पनौती नगरपालिका वडा नम्बर १, २ र ३ कमिटीले संयुक्त रुपमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

बाटोको इजाजतपत्र विना, क्षमताभन्दा बढी तौल बोकेर निर्वाध रुपमा टिपर गुडीरहेको युवा संघ पनौती नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजेश घिमिरेले बताए । उक्त मार्गमा ८ वडा विद्यालय पर्ने भन्दै उनले जुनसुकै समयमा पनि टिपर दौडिरहँदा दुर्घटनाको जोखिम बढेको बताएका छन । इजाजतविना कस्को निर्देशनमा टिपर गुडीरहेका छन् ? भन्दै युवा संघले प्रश्न गरेको छ ।

७ दिनभित्रमा समस्याको समाधान नभए राष्ट्रिय युवा संघ नेपाल चरणवद्ध रुपमा कठोर आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ । नविना श्रेष्ठले कुशादेवी क्षेत्रमा टिपरको लापरवाही भइरहेको बताइन । राष्ट्रिय युवा संघ पनौती नगरपालिका वडा नम्बर १ का अध्यक्ष बिजय लामाले बनेपा–पनौती सडकखण्डमा दिउसो विनापासको टिपर चल्न रोक लगाइएपछि वैकल्पिक मार्ग प्रयोग गर्न थालेको बताए । वैकल्पिक बाटो प्रयोग गर्दा करछलि समेत भएको हुनसक्ने आशंका गरेका छन् ।

युवा संघको ध्यानाकर्षण पत्र वुझ्दै नगरप्रमुख रामशरण भण्डारीले अत्याधिक भार बोकेको, विनापास सञ्चालन गरिएको, तिव्र गतिमा टिपर दौडने गरेको भन्ने विषयले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए । उनले आज नै सरोकारवालाई बोलाएर छलफल गरेका छन् । चल्ने अनुमती प्राप्त भए÷नभएको, तोकिएको समयमा चलेको÷नचलेको विषय आफुले वुझ्ने उनले बताएका छन् । शान्ति सुरक्षा, नीतिनियमको विषय सम्बन्धीत ठाउँमा राख्ने नगर प्रमुख भण्डारीले बताएका छन । युवा संघले जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे, इलाका प्रहरी कार्यालय बनेपा, प्रहरीचौकी पनौती, कुशादेवी प्रहरीचौकीलाई ज्ञापनपत्र बोधार्थ दिइएको छ ।

भिडियोः