आज दिनभर के–के भयो ?

नेपाल र भारतबीच ४ वटा सम्झौतामा हस्ताक्षर

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चार वटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यसैगरी दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पाेरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यु स्पेस इन्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
आजै दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यु नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषण गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले माग्यो ६ सिट

नेकपा एमालेले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि ६ सिट मागेको छ । एमालेको प्रस्तावमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिए पनि माधवकुमार नेपाल नेतृत्वको एककीृत समाजवादी असन्तुष्ट भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभाका ६ सिट मागेका थिए । संक्रमणलीन न्यायसँग सम्बन्धित विषयमा सहमति गर्ने भए राष्ट्रिय सभामा ६ सिट दिनुपर्ने प्रस्ताव एमालेले गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डले बताए । एमालेबाट रिक्त हुने ८ सदस्यमध्ये कम्तीमा ६ सिट पाउनुपर्ने उसको प्रस्तावमाथि गठबन्धन बैठकमा छलफल भए पनि निर्णयमा पुग्न सकेन । राष्ट्रिय सभामा मिलेर जान तयार सत्ता गठबन्धनभित्र प्रमुख प्रतिपक्षी एमालेको प्रस्तावले तरंग ल्याएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमालेको प्रस्तावबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका थिए । तर, ठूलो माग राखेको भन्दै गठबन्धनका दुई दल एकीकृत समाजवादी असन्तुष्ट भएपछि बैठकले निर्णय लिन सकेन । एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले राष्ट्रिय सभामा त्यत्रो सिट पाउने आधार नभएको भन्दै जे भन्यो त्यही गर्न नहुने बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका नागरिक छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग टिआरसी पास गर्ने नाममा एमालेले बार्गेनिङ गर्न खोजेको उनीहरुको बुझाई छ । एकीकृत समाजवादी तयार नभएपछि गठबन्धनले एमालेलाई पनि राष्ट्रिय सभामा सिट दिने निर्णय नगरी बैठक सकिएको छ। गठबन्धन बैठक बिहीबार बेलुका बस्ने तयारी छ । गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टीले भने यसबारेमा मिलेर जाँदा उचित हुने धारणा राखेको छ ।

गठबन्धनमा आँच आउँदैन ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिपक्षलाई अहिलेसम्मकै उदारता प्रदर्शन गरेको दाबी गरेका छन् । अहिले राष्ट्रियसभामा पनि एमालेलाई समेटेर जानेबारे छलफल भइरहेको बेलामा उनले यस्तो बताएका हुन् । रामेछापको सुनापति गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदन सञ्चालन र शान्ति प्रक्रियाको बाँकी काम टुग्याउन सत्तापक्ष र प्रतिपक्षबीच आफूहरुले सक्दो समझदारी गरेको बताए ।
उनले यअसघि पनि सदन सुचारू गर्न र विधेयक अघि बढाउन सहज होस् भनेर यो पटक लेखासहित तीन समिति सभापति नेकपा एमालेलाई दिने समझदारी गरेर दिएको बताए । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कतिपयले दुस्साहस गरेपनि सम्भव नभएको उनको भनाई छ ।

 

युद्धग्रस्त मुलुक रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा सरकारले रोक लगाएको छ । रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिंदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । हालसम्म रुसी सेनमा गएर ९ जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् ।

अहिलेको अवस्थालाई नजिकैबाट नियालिरहेको छुः पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको बताए । तर आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उनको भनाई छ ।
देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको उनले बताए । अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने उनले बताए । देशमै उत्पादन उद्यम, इलम सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उनले बताए । तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने उनले बताए ।

कार्ड नहुँदा १६ महिनादेखि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण रोकियो

स्मार्ट कार्डको अभाव देखाउँदै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण रोकिएको १६ महिना भएको छ । जसका कारण लाखौं सेवाग्राही लाइसेन्स लिन राजस्व तिरेको भौचर बोकेर सवारी चलाउन बाध्य छन् । पहिलो खेपमा ६ लाख र दोस्रो खेपमा अर्को ६ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको भए पनि कार्ड कहिले आईपुग्छ भन्ने यकिन छैन । स्मार्टकार्ड कहिले आउने र छपाई भएर कहिलेदेखि वितरण हुन्छ भन्ने जवाफ यातायात व्यवस्था विभागका कर्मचारीसँग पनि छैन ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत भएको छ । गजुरेलले गत मंसिर २० मा राजीनामा दिएका थिए । उनको राजीनामा मंसिर २० बाटै लागु हुनेगरी स्वीकृत गरिएको प्रधानमन्त्रीको सचिवालयले बिहीबार औपचारिक जानकारी दिएको छ । राजीनामा दिएपछि गजुरेल प्रधानमन्त्रीका नियमित काममा संलग्न थिएनन् । गजुरेल प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा उम्मेदवारका लागि टिकट पाएका थिएनन् । प्रधानमन्त्री भएपछि दाहालले गत वर्ष माघ ९ मा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।

मेलम्ची खानेपानी आयोजना मर्मतको ७० प्रतिशत काम सम्पन्न
मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले क्ष्तिग्रस्त भएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको जनाइएको छ । हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलको अवलोकनका लागि पुगेको प्रतिनिधिमण्डललाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले ७० प्रतिशत काम सकिएको जानकारी दिए । इन्जिनियर कुँवरले बाँकी काम केही कठिन रहेको बताउँदै जस्तो परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुने बताए । उनले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको पनि बताए । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी पु¥याउने गरी काम गरिरहेको बताएका छन । अवलोकन प्रतिनिधिमण्डलमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसदहरु, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायत रहेका थिए । आयोजनामा हाल ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको जनाइएको छ ।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार तथा राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ ।