राष्ट्रियसभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौंं। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै छ। निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ। प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ। पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन्। माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।