हिमकाली समाजसेवा साकोसको आयोजनामा सहकारी साक्षरता शिविर
शंखु÷ हिमकाली समाजसेवा बचत तथा ऋण सहकारी सेवा केन्द्र बनेपाको आयोजनामा सदस्यहरुका लागी सहकारी शिक्षा तथा वित्तिय साक्षरता शिविर गरिएको छ । कार्यक्रममा संस्थाको सेवा केन्द्र बनेपाका संयोजक कृष्ण प्रसाद शर्माको सभापतित्व तथा काभ्रे पलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी कायस्थले आम नागरिक सचेत नहुँदा समय समयमा आईपर्ने आर्थिक संकट तथा वित्त व्यवस्थापनका लागि सबै पक्षले वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने बताए । सदस्यहरुले नै सहकारीका बारेमा राम्रो सगं नबुझी सहकारीको नीति नियम विना सञ्चालन भएका सहकारीहरुमा कारोबार गर्दा अहिलेको समस्या आएको उनको भनाई छ । सदस्यहरु चनाखो भई समय समयमा सहकारीमा गई सहकारीको अबस्थाका बारेमा चासो राख्ने, सञ्चालकहरुका बारेमा थाहा पाईराख्ने गर्नु पर्ने कायस्थले बताए । साक्षरता शिविरले संस्थाका सदस्यहरुलाई वित्तिय सचेतनाको माध्यम मार्फत जीवनस्तर उकास्न मद्दत गर्ने, सदस्य मैत्री क्रियाकलापलाई अगाडी बढाउन सहज हुने अध्यक्ष अर्जुन बजगाईले बताए ।
संस्थाले सदस्यहरुको आयस्तर उकास्न कृषिमा लगानी, सदस्यहरुलाई सिपमुलक तालिमहरु प्रदान गर्दे आएको बजगाईले बताए । संस्थाले ४ वटा सेवा केन्द्रबाट र मुख्य कार्यलय पनौती नगरपालिका वडा नम्बर १० शंखु बाट सेवा प्रदान गर्दे आएको छ । संस्थामा १ हजार ४ सय सदस्य रहेका छन । सदस्यहरुबाट मंसिर मसान्त सम्म १२ करोडको कारोबार भएको संस्थाले जनाएको छ ।
सहकारी शिक्षा शिविरमा संस्थाका व्यवस्थापक मुरारी सुवेदीले संस्थाको प्रगती तथा भावि कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत सघंका लेखा समितिका संयोजक शिव प्रसाद आचार्यले संस्थाको बचत तथा राहत कोष सम्बन्धी, जिल्ला बचत संघका उप प्रबन्धक रवि केसीले सहकारीले गर्नु पर्ने कार्य र सदस्यहरुको जिम्मेवारी र भुमिकाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।