काभ्रेपलाञ्चोकमा भएका सबै एम्बुलेन्सहरुको अवस्था छानविन गर्न समिति गठन

धुलिखेल
काभ्रेपलाञ्चोक
जिल्ला स्तरमा संचालित एम्बुलेन्सको अवस्था, वर्ग र समस्याका बारेमा अध्ययन गरी एम्बुलेन्स संचालनलाई थप ब्यवस्थित गराउन छानविन समिति गठन गरिएको छ । जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् ।
जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने ब्यवस्था छ । समितिको पौष २० गते शुक्रबार बसेको बैठकले जिल्लामा भएका सम्पूर्ण एम्बुलेन्सहरुको अवस्थाका बारेमा जानकारी लिने र थप ब्यवस्थित गर्ने उदेश्यले स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख सह संयोजक रहने गरी मेथिन्कोट अस्पताल, धुलिखेल अस्पताल र सम्वन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुख रहने गरी ४ सदस्यीय छानविन समिति गठन गरेको छ । उक्त समितिले तीन हप्ता भित्र प्रतिवेदन समितिलाई हस्तान्तरण गर्नेछ ।

बैठकले एम्बुलेन्सहरुलाई मापदण्ड अनुसार संचालनका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को उफदफा १ को छ बमोजिम २ महिनाको अवधी दिई सूचना प्रकाशित गर्ने र आवश्यक समन्वयका लागि स्थानीय तहहरुमा अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै संचालित एम्बुलेन्सहरुमा जिपिएस जडान गरी स्तरोन्नती मापदण्ड बमोजिम संचालन गर्न स्थानीय, प्रादेशिक अस्पताल र स्वास्थ्य संस्थालाई अनुरोध गर्ने निर्णय गरेको छ । यस अघि पनि जिल्लाका अधिकांश एम्बुलेन्समा जिपिएस जडान गरिए पनि एम्बुलेन्स संचालकहरुले कार्यान्वयन गरेका थिएनन् । त्यस्तै बैठकले एम्बुलेन्स चालक र त्यसमा रहने स्वास्थ्यकर्मीहरुको तालिमका लागि प्रादेशिक एम्बुलेन्स ब्यवस्थापन समिति समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा चल्ने सम्पूर्ण एम्बुलेन्सहरुलाई ब्यवस्थित गर्न धुलिखेल अस्पतालमा केन्द्र रहने गरी यस अघि जिपिएस जडान गरी संचालनमा आएको धुलिखेल अस्पतालका एमरजेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जानकारी दिए ।