आज दिनभर के–के भयो ?

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच सहमतिको सम्भावना तत्काललाई टर्यो
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच सहमतिको सम्भावना तत्काललाई टरेको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पास गर्नुपर्ने सत्ता गठबन्धनको प्रस्तावमा एमाले नेतृत्व तयार नभएपछि राष्ट्रियसभामा सहमतिको सम्भावना टरेको नेताहरुले बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा सहमतिको प्रयासमा प्रमुख तीन दलबीच पछिल्लो केही दिनयता सघन छलफल भएको थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतहरुले सत्ता साझेदार दलहरुसँग समेत परामर्श गरेका थिए । स्रोतका अनुसार कांग्रेस र माओवादीका शीर्ष नेताहरु एमालेलाई ३ सिट दिन तयार भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ६ सिट मागेको गठबन्धनका नेताहरुले बताएका छन् ।
सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । नगर अस्पतालको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको र तनाव बढ्दै गएकोले आज शुक्रवार बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिएका छन । बरहथवा नगरपालिकामा नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा आज दिउँसो बरहथवा नगरपालिका–६ का जयशंकर साहको ज्यान गएको थियो । अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो । स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो । निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो ।
उपकुलपतिको नियुक्तिका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । दाहालले शुक्रबार शिक्षामन्त्री अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन चाहेको धारणा राखेका थिए । उनको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले शुक्रबार छनोट तथा सिफारिस समितिले विज्ञापनमा राखेका व्यवस्थाहरुमा असहमति राखेका हुन् । सूचनामा राखिएको अनुभवको त्यस्तो प्रावधानले योग्य मान्छेहरूका लागि ढोका बन्द हुने भन्दै तत्काल सच्याएर अर्को सूचना जारी गर्न प्रधानमन्त्री दाहालको निर्देशन छ । शिक्षामन्त्री राई संयोजकत्वको त्रिवि पदाधिकारी छनोट तथा सिफारिस समितिले शुक्रबार दरखास्त मागेको थियो । सो सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने भन्ने उल्लेख थियो । प्रधानमन्त्री दाहालले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिष्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राख्न निर्देशन दिएका छन ।
एमाले ले राष्ट्रिय सभा चुनावमा सबै सिटमा उम्मेदवारी दिने
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन । त्यसैगरी बैठकले ६ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ ।
भारतले सिधै २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सम्झौताको चर्को आलोचना
भारतले सिधै २० करोड रुपैयाँसम्मका योजनामा खर्च गर्न पाउने सम्झौताको चर्को आलोचना भएको छ । संसदको राज्य व्यवस्था समितिको बैठकमा विपक्षी नेकपा एमालेसहितका दलका सांसदले यो सम्झौताको आलोचना गरेका हुन् । भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणको क्रममा हिजो भारतले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने सम्झौतामा हस्ताक्षर भएको थियो । आज बसेको राज्यव्यवस्था समितिको बैठकमा रघु जी पन्त लगायतका नेकपा एमालेका सदस्यहरुले विरोध जनाए । यो सम्झौताले अनावश्यक र अवान्छित राजनीतिक प्रभाव, दबाव र हस्तक्षेपलाई निम्त्याउने पन्तले बताए । उनले यसमा नेपालले पुनर्विचार गर्नुपर्ने माग गरे । सत्ता घटबन्धनकै एउटा घटक एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि सो सम्झौता राष्ट्रघाती भएको भन्दै आलोचना गरेका छन् । राज्य व्यवस्था समितिमा चर्को आलोचना र विरोध भएपछि बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिँदै रकम खर्च गर्ने तरिकालाई व्यवहारिक बनाइने बताए ।
राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिएको छ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु भएको छ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।
अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा
अस्ट्रेलिया आईसीसीको टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । आईसीसीको पछिल्लो वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । यस्तै भारत टेस्ट वरीयताको दोस्रो स्थानमा छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा यथावत् छन् । टेस्ट वरीयताको ब्याटरतर्फ न्युजिल्यान्डका केन विलियमसन शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका जोए रुट दोस्रो र अस्ट्रेलियाका स्टेभेन स्मिथ तेस्रो स्थानमा यथावत् छन् । टेस्ट वरीयताको बलिङतर्फ भारतका रविचन्द्रन अश्विन, दक्षिण अफ्रिकाका कागिसो रबाडा र अस्ट्रेलियाका प्याट कमिन्स क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा यथावत् छन् ।