बनि नसक्दै ‘थला’ परेको खानीखोलामा अस्पताल कहिले बनिसक्छ ?
मोतीराम तिमल्सिना
खानीखोला
जिल्लाको विकट पालिका खानीखोलामा निर्माणाधीन आधारभूूत अस्पताल बजेट अभावका थला परेको अस्पताल अझै उठ्न सकेको छैन । पर्याप्त बजेट नभएका कारण अस्पताल निर्माणको कार्य अझै शुरु हुन सकेको छैन ।
अस्पताल बन्ने आसमा रहेका स्थानीयहरू उपचार अभावकै कारण मृत्युको मुखमा पुग्न बाध्य छन् । ‘यो अस्पताल बनाउने जिम्मेवारी हाम्रो हो । हामी बनाउँछौं’–प्रदेश सरकारका मन्त्री युवराज दुलालले भने–‘निर्माण ब्यवसायी र तत्कालिन समयमा स्थानीय सरकारको समेत प्राविधिक त्रुटीका कारण अलपत्र परेको अस्पताल निर्माण प्रदेश सरकारले बनाउने छ ।’ अस्पताल लगायतका भौतिक पूर्वाधारको अनुगमन तथा शिलान्यास कार्यक्रममा पुगेका बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री युवराज दुलालले खानीखोलाको अलपत्र अस्पताल निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरे । चालु वर्षका लागि तीन करोड बजेट विनियोजन भएको उनले बताए ।
अस्पताल नभएकै कारण नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ्गले बताए । ‘सडक बन्द हुँदा एम्बुलेन्स जान सक्दैन । नजिकै अस्पताल छैन । बिरामी हुँदा मर्नुको विकल्प छैन’– अध्यक्ष थिङ्गले भने–‘खानीखोलाबासीले आधारभूत अस्पताल र सडकका कारण दैनिक भोग्नु परेका समस्यामा संघ र प्रदेश सरकारले पर्याप्त चासो दिन सकेको छैन । अस्पताल निर्माणाधीन छ । बहुवर्षीय बजेटमा समावेश गर्नु पर्ने अस्पताल निर्माणको कार्यलाई एक वर्षमै सीमित गरि दिएका कारण निर्माण व्यवसायीले निर्माण सम्पन्न गरेको पूर्वाधारको ३ करोड रकम भुक्तानी पाउन सकेको छैन । बाँकी कार्य अधुरो हुँदा अस्पताल शुरू गरेर सेवा चालु हुने स्थानीयको अपेक्षामा तुषारापात भएको छ ।’ चालु वर्षमा विनियोजन भएको ३ करोड बजेट अझै निर्माण ब्यवसायीलाई भुक्तानी हुन सकेको छैन । उक्त रकम भुक्तानी हुँदा पनि बाँकी रकम विनियोजन नहुँदा सम्म अस्पताल निर्माण हुन सक्ने सम्भावना छैन ।
अस्पतालको समस्या र प्राविधिक त्रुटीका विषयमा मन्त्री दुलालका अलावा जिल्ला स्थित कार्यालयहरुको तर्फबाट समेत पटक पटक अनुगमन भएको छ । ‘मुख्य कुरा पैसा रहेछ । बजेट भए पनि कार्यान्वन हुन नसक्ने अवस्था सिर्जना भएको छ’–अध्यक्ष थिङ्गले भने–‘चालु वर्षमा निर्माण ब्यवसायीको रकम भुक्तानी भएर थप कार्यका लागि बजेट विनियोजन हुँदा मात्रै अस्पताल बन्ने कुराको सुनिश्चित हुन सक्छ ।’ खानीखोला गाउँपालिकाको वडानम्बर ५ स्थित तालढुंगा स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्ने गरी १० शैयाको अस्पताल निर्माणको कार्य प्रारम्भ गरिएको थियो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको कार्य प्राथमिकतामा राखेको थियो । २०७८ असार २९ गते तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनीले खानीखोला गाउँपालिकाको आधारभुत अस्पताल निर्माणका लागि सम्झौता गरेको थियो । १६ करोड ६४ लाख रुपियाँमा बोलपत्र आह्वान गरेकोमा १२ करोड ५४ लाख रुपियाँमा सम्झौता भएको थियो । निर्माण व्यवसायीले कार्य सम्पन्न गरेका आधारमा साढे दुई करोड रुपियाँ भुक्तानी गरेको छ । तर तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनील करिब ३ करोड भुक्तानी लिन बाँकी रहेकोे जानकारी दिएको छ । रकम भुक्तानी भए तुरुन्तै अस्पताल निर्माण कार्य सम्पन्न गर्ने व्यवसायीले बताएका छन् ।
२०७९ असार मसान्तसम्ममा अस्पतालको भवन निर्माण सम्पन्न भई सक्नुपर्ने भए पनि शुरूमा जग्गा विवाद पछि बजेट नभएका कारण निर्माण कार्य रोकिएको थियो । म्याद सकिएको एक वर्ष निर्माणको अवधि थपिएको भए पनि भुक्तानी नभएकै कारण थपिएको म्यादभित्र अस्पताल निर्माणको सुरसार नै हुन सकेन । खानीखोला पुग्ने सडक सामान्य वर्षात हुँदा पनि अवरोध हुने गर्छ । मकवानपुरबाट नजिकै हुने भए पनि वागमती खोलामा २०७३ सालमा ठेक्का लगाईएको पुल निर्माण नहुँदा आवतजावत हुन सक्दैन । महाभारत गाउँपालिकामा सुत्केरी महिला उत्थान कार्यक्रम लागु भए पनि जोडिएको झनै विकट पालिका खानीखोलामा उक्त कार्यक्रम छैन । सुत्केरी हुन नसकेका महिलाहरूको उद्दारका लागि खानीखोलाबाट महाभारत ल्याएर हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने बाध्यता छ । संघ र प्रदेश सरकारले सबै स्थानीय तहलाई एउटै डालोमा राखेर हेरेका कारण विकट क्षेत्रका पालिकाका नागरिकहरू संकटमा परेको अध्यक्ष थिङ्गले बताए । उपचार नपाएरै नागरिकहरूले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराए पनि गम्भीर नभएको स्थानीयहरुले बताए ।