पनौती नगरपालिका–५ मा बालमैत्री शाखा उद्घाटन
विकास तिमल्सिना
पनौती नगरपालिका वडा नम्बर ५ मा बालमैत्री शाखा उद्घाटन गरिएको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले बालमैत्री शाखा उद्घाटन गरेका हुन । बालमैत्री शाखामा बाल कक्षा सञ्चालन हुनेछ । यस्तै बाल भेला, छलफल, बालबालिकाको प्रतिभा प्रदर्शन, विभिन्न पुस्तक अध्ययन, क्षमता विकास लगायतका कार्य समेत उक्त शाखामा सञ्चालन हुने बताइएको छ ।
शाखा उद्घाटन कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गीता बञ्जारा, पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद खत्री, पनौती नगरपालिकाका बालमैत्री शाखा प्रमुख केशव बञ्जारा, विभिन्न बाल सञ्जाल÷समुहका बालबालिका, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमममा स्वागत मन्तव्य वडा सदस्य प्रेम बहादुर कुँवरले राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले बालमैत्री दिगोपनाका लागि नगरपालिकाले काम गरिरहेको बताएका छन । बालबालिकाको आवश्यकता, माग बमोजिम सरोकारवालाको उपस्थितीमा कार्यक्रम भइरहेको उनको भनाई छ । नगर प्रमुख भण्डारीले बालश्रम र बाल काम बारे वुझाउन जरुरी रहेको समेत औंल्याएका छन् । उनले बालबालिकाको क्षमता विकास, सिकाइमा स्थानीय स्रोत साधनको प्रयोगमा जोड दिन पनि आग्रह गरेका छन् ।
उप–प्रमुख गीता बञ्जाराले पनौती नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने योजना सफल भएको भन्दै अब बालश्रम अन्त्यका लागि सबै एकजुट हुनुपर्ने बताइन् । उनले १६ वर्षमा नागरिकता प्रदान गर्ने र २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्नुपर्ने भन्ने नीतिमा संशोधन गर्नुपर्ने पनि बताएकी छन् । उनले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्नुपर्ने धारणा राखेकी छन् । राज्यको दोहोरो नीतिका कारण समस्या भएको उनको भनाई छ । उनले बालश्रम अन्त्य, लैंगिक हिंसा, घरेलु हिंसा न्युनिकरणका लागि अभियान चलाइरहेको पनि जानकारी दिइन् ।
वडा अध्यक्ष विनोद खत्रीले हरेक विद्यालय, टोलवस्तीमा पुगेर बालबालिकाको कुरा सुन्ने गरेको बताए । बालबालिकाहरुले आफ्नो लागी आफैं योजना माग गर्न र छनौट गर्न थालेको भन्दै उनले खुसी व्यक्त गरेका छन् । यस्तै बालमैत्री शाखा प्रमुख केशव बञ्जाराले बालश्रम मुक्त नगर घोषणाका लागि अन्तराष्ट्रिय श्रम संगठन आइएलओ सँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिए । उनले बालबालिकालाई अधिकार मात्रै नभई कर्तव्य पनि सिकाउने गरेको बताएका छन् । बाल सुमुह÷सञ्जाल मार्फत जीवनोपयोगी विषय सिकाउँदै आइरहेको उनको भनाई छ । यस्तै वडा बाल सञ्जाल अध्यक्ष सृजा चौलागाँईले वडामा बालमैत्री कक्षा सञ्चालन भइरहेको बताइन् । कक्षामा बालश्रम, बाल विवाह, बाल अधिकार, बाल कामको बारेमा छलफल हुने गरेको चौगागाईले जानकारी दिइन ।
बालमैत्री शाखा उद्घाटनकै अवसर पारेर बाल समुहले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने बालबालिकालाई पुरस्कार वितरण गरिएको छ । हाम्रो सम्पदा, हाम्रो गौरव विषयक निबन्ध लेखन प्रतियोगितामा २२ जना बालबालिका सहभागी थिए । सहभागी मध्ये वस्तीस्तर तर्फ प्रथम अनिशा मिजार, द्धितिय संस्कृति गिरी र तृतिय अनुशा केसी, विद्यालयतर्फ प्रथम हाइल्याण्ड स्कु्लकी टेनिशा कार्की, द्धितिय सेन्टलम स्कुलकी रितिका श्रेष्ठ र श्वेतगणेश आधारभुत विद्यालयकी सजना जिम्बा तृतीय भएकी थिइन् ।
आज नै समाजसेवी प्रकाश कुमार श्रेष्ठ र वसन्त कुमार तामाङले ३० जोर ट्रयाक सुट वडा बाल सञ्जाललाई उपलब्ध गराएका छन् ।
पनौती नगरपालिका वडा नम्बर ५ मा नगरपालिका र वडाबाट ६ लाख ६८ हजार रुपैयाँ बराबरको वार्षिक कार्ययोजना बनाएर काम भइरहेको बालमैत्री सहजकर्ता गीता तिमल्सिनाले बताइन् । वडा नम्बर ५ मा हालसम्म १६ वटा बाल समुह गठन भएको छ । जसमध्ये ७ वटा विद्यालयस्तर र ९ वटा वस्तीस्तरका छन् । २ वटा बाल सुमुह गठनको अन्तिम तयारी भइरहेको छ ।
पनौती नगरपालिका २०७८ असार ३० गते बालमैत्री नगर घोषणा भएको थियो । त्यसपश्चात नगरपालिकाले दिगोपनाका लागि ५१ वटा सुचकलाई केन्द्रमा राखेर हरेक वडामा काम गर्दै आइरहेको छ ।
तस्बिरः