आज दिनभर के–के भयो ?
सरकारमा सहभागी सात दलको बैठक बालुवाटारमा जारी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकारमा सहभागी सात दलको बैठक बसिरहेको छ । सत्ता गठबन्धनका चार दलको बैठक सकिए लगत्तै बालुवाटारमा सरकारमा सहभागी दलहरूको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने बताइएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले आ–आफ्नै दाबी राखेका छन ।
नेकपा एस मा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा ३ नेतालाई
सत्तारुढ दल नेकपा एकीकृत समाजवादी ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल सहित ३ नेतालाई दिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको जानकारी दिए । पार्टीका तीन जना नेतालाई सर्वाधिकार दिइ गठबन्धनको बैठकमा पठाएको उनले बताए । उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्न खोज्नु नहुने र प्रतिपक्षकै हिसाबमा बस्नुपर्ने बारेमा पनि छलफल भएको बताए ।
सर्लाहीको बरहथवा घटना छानबिन गर्न समिति गठन, मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय
सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । हिजो भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ । समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन । यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिन र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा भएको झडपमा परी साहको ज्यान गएको हो । स्थानीयले गोली हान्ने प्रहरीलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर शव उठाउन नदिएपछि साहको शव घटनास्थलमै रहेको छ ।
नेपालको विकास परियोजनामा भारतीय दूतावासले सिधै रकम दिनु गलतः झलनाथ खनाल
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालको विकास परियोजनामा भारतीय दूतावासले सिधै रकम दिनु गलत भएको बताएका छन् । गत बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भारतीय दूतावासले नेपाली परियोजनामा सिधै २० करोड रुपैयाँसम्म रकम दिन सक्ने समझदारी भएको थियो । यसअघि दूतावासले यस्तो विकास परियोजनामा ५ करोड रुपैयाँसम्म दिन सक्ने व्यवस्था थियो । पार्टी कार्यालय आलोकनगरमा शनिबार सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले भारतले दिने सहयोग रकम भारतीय सरकारले सोझै नेपाल सरकारलाई दिनुपर्ने बताए ।
गोरखादेखि काठमाण्डौसम्म नेपाली सेनाको पदयात्रा शुरु
नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्त्वको एकीकरण अभियान हर्सोल्लासकासाथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ । सेनाले २०७६ सालदेखि हरेक वर्ष पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाण्डौसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, सेनाको नम्बर–३ बाहिनीपति सहायक रथी गौरवकुमार केसीले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गरेका थिए । आज बिहान गोरखा दरबारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन यही २७ गते शुक्रवार काठमाण्डौ पुग्ने गोरखाको रिपुमर्दन गणका सेनानी एवं पदयात्रा समन्वय अधिकृत भुवनबहादुर थापामगरले बताए । पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन सेनाको पोसाकमा रिपुमर्दन गण र शार्दुलजंग गुल्मका सेना सहभागी छन् । टर्चसहित नेपालको झण्डा र पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको सेनानी थापामगरले जानकारी दिए । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको रिपुमर्दन गणको टोलीले नेपाली सेनाको धादिङको शिवदल गण, धादिङले नुवाकोटको जबरजंग गण र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौको कालीध्वज गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ । काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ ।
न्याय परिषद सदस्य रामप्रसाद श्रेष्ठ माथि ’विश्वास’ नरहेको नेपाल बार एसोसिएसनको निर्णय
नेपाल बार एसोसिएसनले न्याय परिषद सदस्य रामप्रसाद श्रेष्ठ माथि ’विश्वास’ नरहेको निर्णय गरेको छ । बारको पछिल्लो समय बसेको बैठकले गरेको यो निर्णयसँगै श्रेष्ठलाई राजनीनामा दिन दबाब परेको छ । श्रेष्ठ नेपाल बारएसोसिएसनको सिफारिसमा न्याय परिषद् सदस्यमा नियुक्त भएका थिए । पछिल्लो समय न्याय परिषद्मा भएका निर्णहरूमाथि श्रेष्ठले बारसँग कुनै सल्लाह नगर्ने, बारको चासो नराख्ने, आफूखुशी चल्ने र न्यायापालिकाको अहित हुने निर्णयमा साक्षी बनेको आरोप लगाउँदै बारले श्रेष्ठप्रति विश्वास नरहेको भन्दै शुक्रबार बसेको कार्यसमिति बैठकले राजनीनामा दिन दबाब दिएको हो । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बारले श्रेष्ठका सम्बन्धमा निर्णय गरेको र त्यसको जानकारी आइतबार सम्बन्धित पक्षहरूलाई दिइने बताए । बारका अर्का पदाधिकारीले भने न्याय परिषद् सदस्यका रुपमा श्रेष्ठ भरोसा गर्न योग्य नरहेको ठहर बारले गरेको जानकारी दिए ।
डाक्टर गोविन्द केसीसहित नौ जना माइतीघरबाट पक्राउ
डाक्टर गोविन्द केसीसहित नौ जना काठमाण्डौको माइतीघरबाट पक्राउ परेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित नौ जना प्रदर्शनकारीलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । देशमा दण्डहीनता बढेको, द्वन्द्वकालका पीडितलाई झनै पीडित बनाउने तयारी भएको, विश्वविद्यालयहरुमा राजनीतिक भागभण्डा भइरहेको लगायतका घटनाको विरोधमा उनीहरु प्रदर्शनको लागि माइतीघरमा पुगेका थिए ।