एक सातामै राज्यबाट मारिए तीन युवा

काठमाडौं। अघिल्लो साता (पुस १३ गते) ललितपुरको बालकुमारीमा राज्यको गोलीबाट दुईजना युवकको मृत्यु भयो। दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षामा सम्मिलित हुन चाहने युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि अछाम चौरपाटी गाउँपालिका १ सिउडीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका ६ रानीवनका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो।

राजधानी उपत्यका (बालकुमारी) मा घटेको यो घटनाको साता पनि नबित्दै फेरि मधेस प्रदेशमा प्रहरीको गोलीबाट एकजना युवकले ज्यान गुमाएका छन्। शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका ६ मा अस्पतालको विषयमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा बिजुलीको महसुल बुझाउन गएका स्थानीय २८ वर्षीय जयशंकर साहको मृत्यु भएको छ।

१५ शय्याको नगर अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पताल बनाउने-नबनाउने विषयमा बरहथवा नगरपालिकाले राजनीतिक दाउपेच गर्न थालेपछि असन्तुष्ट पक्ष आन्दोलित भएको थियो। आन्दोलित पक्षले गरेको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा साहको ज्यान गएको हो।

राज्यको गोलीबाट तीनजनाको मृत्यु हुनेगरी साता दिनमा भएका दुई घटनाको परिवेश फरक भए पनि प्रकृति भने समान छ। दुवै घटनामा राज्यका निकायको हठात् निर्णयका कारण आन्दोलन भएका छन्।

आन्दोलनको स्वरूप निश्चित रूपमा उग्र छ तर सुरक्षा निकायले चाहिनेभन्दा बढी बल प्रयोग गरेको छ। अनाहकमा चलेको राज्यको गोलीबाट आपराधिक पृष्ठभूमि नभएका, केही श्रम गर्न चाहने कलकलाउँदा युवाहरूले ज्यान गुमाएका छन्।