राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघको तेस्रो सभा

धुलिखेल÷राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले संस्थाले स्थापना गर्दा लिएको उद्देश्य अनुसार परिणाम आउने गरी कार्य गर्न सुझाव दिए । कार्यक्रममा संस्थाका सल्लाहकार भेषनारायण दाहालले तत्काल परियोजना निमार्ण गरी लो कष्ट हाउजिङ्ग संघमा जानु पर्ने बताए । सहकारीको छवी सुधारका लागि सहकारी आवास परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

कार्यक्रममा अध्यक्ष थापाले ग्रामिण तथा नगरोन्मुख क्षेत्रमा जग्गा विकास, पर्याप्त पूर्वाधार र सरल शुलभ एवम् सुरक्षाको व्यवस्था सहित आवासीय र व्यवसायिक घडेरी बिक्री वितरण, हाउजिङ्ग सेवा व्यवसायिक भवनहरुको निर्माण, कृषि, आवास बस्तीको निर्माणको उद्देश्यसहित संघ स्थापना भएको बताए ।
संघ स्थापना भएको प्रारम्भिक चरणदेखि नै बाह्य परिस्थितिको प्रतिकुलताका कारण लक्ष्य र उद्देश्य अनुरुपका कृयाकलापहरु सञ्चालन गर्न बाधा सिर्जना भएको थापाले बताए । स्थापनाको सुरुका वर्षमा कोभिड १९ को विश्वव्यापी महामारी र त्यसपछि आर्थिक मन्दीको चपेटाको सामना गर्नुपर्दा लक्ष्य र उद्देश्य अनुसारको आवास परियोजना सञ्चालन गर्न कठिनाई भएको स्पष्ट पारे ।
साधारण सभामा संघका महासचिव विकल्प पाठकले सञ्चालक समितिको तर्फबाट प्रगती तथा कार्ययोजना, कोषाध्यक्ष राजकुमार लामाले आव २०७९÷२०८० को वार्षिक प्रतिवेदन र आव २०८०÷२०८१ को अनुमानित आय व्यय विवरण सभामा प्रस्तुत गरेका थिए । त्यस्तै लेखा सुरपरीवेक्षण समितिको तर्फबाट संयोजक सुशिलकुमार बस्न्यातले लेखा प्रतिवेदन पेश गरेका थिए महासचिव विकल्प पाठकले वित्तीय बजारमा आएको समस्या सहकारीहरुमा पनि परेकाले सोचे जति संघले प्रगती गर्न नसकेको स्पष्ट पारे ।
तेस्रो वार्षिक साधारण सभासम्म आईपुग्दा हालसम्मको गतिविधिले आगामी दिनमा गति लिन सकिन्छ भन्ने आशा जागृत भएको उनले बताए । चालु आर्थिक वर्षमा संघमार्फत गर्न सकिने योजनाहरुको सम्भाव्यता अध्ययन गर्नुका साथै आगामी आर्थिक वर्षदेखि संघको व्यवसायिक क्षमता विकासका लागि रणनीतिक योजना तयार गरिने बताए । संघले सामूहिक आवास परियोजनाहरु, बस्ती विकास कार्यक्रमहरु, आवास कोलनीहरुको विकास, घरेडी विकास आयोजनाहरु, आवास निर्माणका लागि प्राविधि सहयोग, सुरक्षित आवास विकास कार्यक्रम, कृषि बजार व्यवस्थापन, सामूहिक तरकारी खेती प्रर्वद्धन, उत्पादन क्षेत्र र उत्पादनको सम्भावना नभएको क्षेत्रको वर्गिकरणमा सहयोग पुर्याउने कामहरु अघि बढाउने महासचिव पाठकले बताए ।
संघको आर्थिक वर्षको अन्त्यसम्ममा शेयर पुँजी ११ करोड ८० लाख, जगेडा तथा अन्य कोषमा ५ करोड ५० लाख रहेको बताए । संघको कुल सम्पत्ती १७ करोड ६२ लाख रुपैयाँ रहेको छ । कार्यक्रममा सहकारीका विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा बामगती प्रदेश सहकारी अध्यक्ष उद्धव सापकोटा, विन्धबासिनी सहकारी अध्यक्ष शान्तकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।