काभ्रे जिल्लाका १ सय ३५ वडाको क्षेत्र बर्गिकरणः कुन–कुन वडा ग्रामीण, शहरी र शहरोन्मुखमा परे ?
भर्खरै सार्वजनिक गरिएको क्षेत्रगत बर्गिकरणको तथ्याङ्कमा काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकाका १ सय ३५ वटा वडा मध्ये २३ वटा शहरी, ८७ वटा ग्रामीण र २५ वटा शहरोन्मुख छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्र्तगत रहेको राष्ट्रिय तथ्याड्ढ कार्यालय, थापाथली, काठमाडौले सार्वजनिक गरेको तथ्याङ्कमा उक्त विवरण उल्लेख छ । काभ्रेपलाञ्चोक जिल्लामा संघीय संरचना अघि र पछि अर्थात २०६८ सालको र २०७८ सालको विश्लेषणात्मक तथ्याकं सार्वजनिक भएको छ । बागमती प्रदेशमा ६७२ वटा वडा ग्रामीण क्षेत्रमा बर्गिकरण गरिएको छ भने १ सय ५७ वटा वडा शहरोन्मुखमा बर्गिकरण गरिएको छ । त्यस्तै २ सय ९२ वटा वडा शहरी क्षेत्रमा बर्गिकरण गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा ८७ वटा वडा ग्रामीण क्षेत्रमा बर्गिकरण गरिएका छन् भने २५ वटा शहरोन्मुख छन् । त्यस्तै शहरी क्षेत्रमा गणना भएका २३ वटा वडा छन् ।
बर्गिकरण गरिएका मध्ये बनेपाको एउटा वडा ग्रामीण क्षेत्रमा परेको छ । ५ वटा वडा शहरोन्मुख र ८ वटा वडा शहरी क्षेत्रमा परेका छन् । त्यस्तै बेथान्चोक गाउँपालिका, भुम्लु गाउँपालिका, चौरी देउराली गाउँपालिकाका सबै वडा ग्रामीण क्षेत्रमा परेका छन् । धुलिखेल नगरपालिकाको एउटा वडा ग्रामीण क्षेत्रमा छ भने ६ वटा वडा शहरोन्मुख र ५ वटा वडा शहरी क्षेत्रमा परेको छ । खानीखोला, महाभारत, रोशी गाउँपालिकाका सबै वडा ग्रामीण क्षेत्रमा बर्गिकरण भएका छन् । मण्डनदेउपुरका ६ वटा वडा ग्रामीण क्षेत्रमा र ६ वटा शहरी क्षेत्रमा छन् । नमोबुद्ध नगरपालिकाका ९ वटा वडा ग्रामीण क्षेत्रमा र २ वटा शहरोन्मुखमा छन् । पनौतीका ३ वटा ग्रामीण, ७ वटा शहरोन्मुख र २ वटा शहरी क्षेत्रमा छन् । पाँचखालमा ६ वटा ग्रामीण, ५ वटा शहरोन्मुख र २ वटा शहरी क्षेत्रमा छन् ।
नेपालको अवस्था यस्तो छ
नेपालको भौगोलिक विभाजन तराई पहाड हिमाल प्रशासनिक विभाजनमा आधारित छ । तराई, पहाडी र हिमाली जिल्ला भनेर सूचीकृत भएका जिल्लाहरुले ओगट्ने क्षेत्रलाई क्रमशः तराई, पहाड र हिमाल भनेर चिनिन्छ । प्रशासनिक जिल्लाहरु र तिनको वर्गीकरणलाई आधार मान्दा वास्तवमा कतिपय तराईको गुण भएका स्थान पहाड, पहाडी क्षेत्रको जस्तो गुण भएका स्थान तराई क्षेत्रमा कायम भएका छन् ।
तराई पहाडको वर्गीकरणमा नपर्ने भित्री मधेस भन्ने स्थान कतै तराईमा कतै पहाडी क्षेत्रमा परेका छन् । यसैगरी शहरी र ग्रामीण क्षेत्रको परिभाषामा मुख्य गरेर संघीय संरचनाअनुसारका ७ सय ५३ वटा स्थानीय तह निर्माण भए पश्चात ग्रामिण परिवेश र सुबिधाबाट बन्चित भएका कयन नगरपालिकाका वडाहरु शहरी वर्गमा दर्ज भएका छन् । त्यसैगरी राज्य पुनसंरचना पश्चात् भूगोल तथा जनसंख्यालाई मुख्य आधार मान्दा कतिपय बजार केन्द्रहरु (शहरी गुण सम्पन्न वा शहरोन्मुख क्षेत्र) ग्रामीण वर्गमा दर्ज भएका छन् । यहि वर्गीकरणका आधारमा नगरपालिकाको संख्यामा बढोत्तरी भएका कारण राज्य पुनरसंरचना पश्चात् एकाएक शहरी जनसंख्या ह्वात्तै बढेको छ । ग्रामीण चरित्र भएको क्षेत्र शहरी वर्गीकरणमा पर्नु र बजार केन्द्रको रुपमा विकसित हुँदै गरेको क्षेत्र ग्रामीण रुपमा नै परिभाषित भएको यस अवस्थामा नीति निर्माण योजना तर्जुमा र बजेट बिनियोजनमा समस्या आएको र आउन सक्ने भएर हालसालै ११ औं राष्ट्रिय जनगणना २०७८ को पुरक प्रतिवेदनका रुपमा राष्ट्रिय तथ्यांक कार्यालयले शहरी र ग्रामीण क्षेत्र र त्यहाँको जनसंख्यासहितको एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको वर्गीकरण नामक उक्त पुस्तकमा संयुक्त राष्ट्रसंघले सिफारिस गरेको बिधि र प्रक्रिया प्रयोग गरेर समग्र नेपालको शहरीकरणको वर्तमान अवस्था आँकलन गरिएको छ ।
प्रतिवेदनमा नेपाललाई शहरी, शहरोन्मुख र ग्रामीण क्षेत्र गरेर वडागत वर्गीकरण गरिएको छ । भू–उपग्रहबाट प्राप्त चित्र र पछिल्लो जनगणनाबाट प्राप्त तथ्यांकलाई समायोजन गरि बैज्ञानिक बिधिबाट नेपालका ७५३ स्थानीय तहका ६७४३ वडाहरुमध्ये ९६२ वटा वडाहरु शहरी प्रकृतिका, २०९६ वटा वडाहरु शहरोन्मुख प्रकृतिका र ३६८५ वटा वडाहरु ग्रामीण प्रकृतिका भएको पाइएको छ । यसैगरी कोशी प्रदेशका १३२, २९८, ७३७ वडाहरु क्रमशः शहरी, शहरोन्मुख र ग्रामीण वर्गमा परेका छन् । हाल नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कुल संख्या २९३ छ । नेपालमा नगरपालिकाहरुमा बसोबास गर्नेको कुल जनसंख्या ६६.०२ प्रतिशत रहेको छ तर हालसालैको वर्गीकरणले माथि उल्लेख भएका शहरी वडाहरुमा बसोबास गर्ने जनसंख्या २७.०७ प्रतिशत रहेको छ । त्यसैगरी शहरोन्मुख क्षेत्रमा बसोबास गर्नेको ३९.७५ प्रतिशत र शहरी क्षेत्रमा बसोबास गर्नेको संख्या ३३.१९ प्रतिशत रहेको छ ।
झापा जिल्लाका १३१ वटा वडाहरुमध्ये १५ वटा वडा शहरी, १०८ वटा वडा शहरोन्मुख र ८ वटा वडा ग्रामीण क्षेत्रमा परेका छन् । झापा कोशी प्रदेशमा ग्रामीण जनसंख्या कम भएको दोस्रो जिल्लामा परेको छ । झापा जिल्लामा ४.४२ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा, ७६.६ प्रतिशत शहरोन्मुख क्षेत्रमा र १८.९५ प्रतिशत मानिसहरु शहरी क्षेत्रमा बसोबास गर्दछन् ।थोरै ग्रामीण जनसंख्या भएको जिल्लाहरुमध्ये कोशी प्रदेशमा झापा दोस्रो जिल्ला हो भने सुनसरीमा कोशी प्रदेशमा सबैभन्दा कम ग्रामीण जनसंख्या भएको जिल्लामा परेको छ ।