नेफ्सकुनका कोषाध्यक्ष अध्यक्ष रहेको समुहमा सदस्यको ५० लाख रकम अनियमित

विकास तिमल्सिना
सामुहिक खेति गरी आर्थिक उपार्जन गर्ने उदेश्यले जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोमा दर्ता भई शेयर सदस्यबाट रकम संकलन गर्ने र बाँकी रकम विभिन्न सहकारीबाट ऋण लिई सदस्यहरुले तिर्ने गरी दर्ता भएको पनौती ९ हालको पनौती ८ को सामुदायिक साना किसान कृषक समुह ९ वर्ष देखि बेपत्ता भएको छ ।
समुहले ५५ जना शेयर सदस्यबाट ११ हजार देखि ५५ हजार रुपैयासम्म संकलन गरेको थियो । २०७१ जेठ २२ गते पनौतीको सामुदायिक साकोसमा खाता खोल्ने निर्णय गरी २७ गते खाता खोलेर कारोवार शुरु गरेको उक्त समुहले पनौतीकै गोरखनाथ सहकारीबाट समेत ऋण लिएको थियो । ७०÷८० रोपनी जमिन भाडामा लिएर कृषि खेति गरेको उक्त समुहले गरेको खेति घाटामा गएको भन्दै शेयर सदस्यहरुबाट संकलित रकम फिर्ता नगरेको हो ।
समुहमा अध्यक्ष दिपक थापा, उपाध्यक्ष शम्भुलाल श्रेष्ठ, सचिव सन्तोषकुमार केसी, कोषाध्यक्ष सन्तन्नु केसी रहेका छन् । त्यस्तै संचालक सदस्यहरुमा विरबहादुर थापा, शान्ता न्यौपाने, राजु सापकोटा, राजन श्रेष्ठ, हर्कबहादुर तामाङ रहेका छन् । पहिलो संचालक समितिको नियमित बैठक र सभा समेत हुन सकेको छैन । कोषाध्यक्ष सन्तन्नु केसीले समुहले गरेको खेति घाटामा गएकाले संकलित रकम फिर्ता गर्न नसकिएको बताए । ‘म आफै पनि ५५ हजार घाटामा छु, अरु सदस्यहरुको रकम पनि घाटामा गएकाले फिर्ता गर्न सकिएन’– कोषाध्यक्ष केसीले भने–‘साझा कि बाजा भने जस्तै भयो, संचालकहरु बैठक बस्न नमान्ने, शेयर सदस्य सभामा आउँदै नआउने । केहि समय हामीले चलायौं । पछि अध्यक्ष दिपक थापाले एक्लै चलाए । सामान पनि के के गरे थाहा भएन । समुह पुरै घाटामा गएकाले हामी चुपचाप बसेका हौं । अनियमित गरेका छैनौं ।’ सामुदायिक साकोसमा रहेको खातामा न्युनतम रकम छ भने गोरखनाथ सहकारीको धेरै ऋण सदस्यहरुले फिर्ता गर्न बाँकी रहेको केसीले बताए ।
२०७१ जेठ ५ गते जिल्ला कृषि विकास कार्यालय काभ्रेमा दर्ता भएको समुहका अध्यक्ष थापाले सदस्यबाट संकलित शेयर रकम हिनामिना गरेको सदस्यले बताएका छन् । ९ वर्ष अघि बचतकर्ताबाट उठाईएको रकमका बारेमा हालसम्म कुनै जानकारी नदिइएको सदस्य सन्तोष राउतले बताए । सामाजिक सञ्जालमै राउतले रकम नपाएको सन्र्दभमा असहमति ब्यक्त गरेका छन् । बैठक, छलफल नै नभएकाले वास्तविक कारोवार अध्यक्ष र कोषाध्यक्षलाई मात्रै जानकारी रहेको सदस्यहरुले बताएका छन् । अध्यक्ष थापासँग बचतको बारेमा कुरा गर्न खोज्दा उल्टै झगडा गर्न आउने गरेको सदस्यको गुनासो छ ।
मदानी विटलाई प्राप्त जानकारी अनुसार ५५ जना शेयर सदस्यले सहकारीमा रकम जम्मा गरेका छन् । कृषिमा सघाउने उदेश्यले सहकारी स्थापना गरिएको एक पदाधिकारीले बताए । शुरुशुरुमा १÷२ वटा बैठक बसे पनि त्यसपछि अध्यक्ष दिपक थापाले संस्था गोजीमा बोकेर हिँडेको ती पदाधिकारीको भनाई छ । शेयरसदस्यले ऋण गरेर बचत गरेको रकम झण्डै ९ वर्ष हुन लाग्दासम्म फिर्ता भएको छैन । फिर्ता नभएको मात्रै होइन संस्था कहाँ छ, बचत कसले फिर्ता गर्छ भन्ने समेत टुंगो छैन । कृषि फर्ममा रहेको ट्रयाक्टर, कोदालो लगायतका कृषि सामाग्रीको अत्तोपत्तो छैन । अध्यक्ष थापा र कोषाध्यक्ष सन्तनु केसीले कृषि सामाग्री घरमा लगेको आफुले जानकारी पाएको एक सदस्यले बताए । यसबारेमा वुझ्न खोज्दा अध्यक्ष थापा संपर्कमा आउन चाहेनन् ।
समुहका सचिव सन्तोष केसीका अनुसार शुरुका १÷२ वटा बैठकमा सदस्यसँग बचत संकलन गर्ने र कृषि फर्म सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसपछि भने छलफल नै हुन नसकेको उनले बताए । हिसाव किताव बारे पटक–पटक छलफलका लागि आग्रह गरे पनि अध्यक्ष थापाले नचाहेको उनले बताए । सदस्यबाट उठाएको पैसा, कृषि औजार खरिद गरेको आफुलाई जानकारी भए पनि त्यसपछि कृषि सामाग्री कहाँ लगियो, के गरियो ? सदस्यसँग उठाइएको पैसा के गरियो ? भन्ने बारे अध्यक्ष र कोषाध्यक्षले कुनै जानकारी नदिइएको उनले बताए । सदस्यले हाम्रो पैसा खै ? भनेर बारम्बार प्रश्न गर्ने गरेको भन्दै सचिव केसीले यसको जवाफ आफैंसँग नभएको बताए । गलत ढंगबाट संचालन हुन थालेपछि आफुले राजीनामा दिन पटक–पटक प्रयास गरेपनि बैठक नै नबसेकाले राजीनामा दिने फोरम नै नपाएको उनले बताए । सचिव केसीले यो समुहबाट आफु पनि पीडित भएको गुनासो गरेका छन् । आफुले जम्मा गरेको २५ हजार रुपैयाँको हिसाबकिताब पाउन बाँकी रहेको सचिव केसीको भनाई छ ।
सदस्य सन्तोष राउतले उक्त कृषक समुहमा आफुले २८ हजार रुपैयाँ बचत गरेको बताए । कृषि फर्ममा रहेको कुटो, कोदालो, ढक तराजु, उठाएर लगेको वर्षौ हुँदा पनि आफ्नो बचत फिर्ता नभएको उनको गुनासो छ । उनले भने, आजसम्म आय व्यय केहि थाहा छैन । पैसा माग्दा झगडा गर्न आउँछन् । सदस्य राउतले गोरखनाथ सहकारी संस्थाबाट ऋण झिकेर कृषक समुहमा वुझाएका थिए । सदस्य बनेकै दिन ऋण झिकेर समुहमा वुझाएको राउतले बताए । उनका अनुसार गोरखनाथ सहकारीको अध्यक्ष कृषि समुहका उपाध्यक्ष सन्तन्नु केसी थिए । किसानलाई एकमुष्ट ऋण झिक्न लगाएर कृषि सहकारीमा लगानी गरिएको थियो । त्यसको सँवा र व्याज आफुहरुले तिरिरहेको राउतले बताए । २५ हजारका कारण १ लाख भन्दा बढी तिर्नुपरेको राउतले गुनासो गरेका छन ।
उनले भने, कृषि समुहबाट पैसा आएपछि फिर्ता गर्छु भन्दा सहकारीले पत्रिकामा नाम निकाल्दिन्छु भन्यो, आफ्नो बेज्जत हुन्छ भनेर ऋण खोजेर सहकारीमा पैसा वुझाएँ । २५ हजारको १ लाख भन्दा बढी तिरेको छु । अध्यक्ष थापा पटक–पटक विवादमा आईरहने व्यक्ति हुन । नेफ्स्कूनको हालै सम्पन्न ३२ औं साधारण सभाबाट कोषाध्यक्ष पदमा निर्वाचित अध्यक्ष थापाले सहकारी ऐन र विभागको निर्देशनको अवज्ञा गरेका थिए । उक्त समाचार मदानी विट डट कममा प्रकाशित भए पछि पुरानो मितिमा राजिनामा वुझाएका थिए । पौष १३ गते सामुदायिक बचत तथा ऋण सहकारी संस्था मिमिटेडमा राजीनामा पत्र वुझाएको भए पनि २०८० मंसिर २९ गतेको राखिएको छ । सोहि दिन संचालक समितिको बैठकले अध्यक्ष थापाको राजिनामा स्विकृत गरेको छ ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले नेफ्स्कूनको साधारण सभामा प्रतिनिधि नपठाए पछि अनेक तिकडमबाजी गर्दै संस्थाको कार्यक्षेत्र भित्र पर्ने ललितपुरको मधुवन साकोसबाट रातारात प्रतिनिधि बनि थापाले चुनावमा भाग लिएका थिए । नेफ्सकुनको पदाधिकारीको उम्मेदवार बन्न प्रतिनिधि संस्थामा संचालक भएर कार्य गरेको हुनु पर्ने भए पनि कोषाध्यक्षमा निर्वाचित थापा उक्त संस्थामा दुई दिन अघि मात्रै सदस्य बनेका थिए । तर नेफ्सकुनमा भने उनी पहिला नै कोषाध्यक्ष भई सकेका थिए ।