कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवारः शेखर पक्षलाई ३ सिट,थापाको लिखित असहमति
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ।
कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना (मधेशं), बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत (बगमती), कृष्ण रोकाया (कर्णाली), नारायण दत्त भटट र बलदेव बोहरा (सुदुरपश्चिम), पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ (गण्डकी), बिष्णुदेवी सापकोटा (लुम्बिनी) लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो।
परियार, श्रेष्ठ र सापकोटा शेखर कोइराला पक्षबाट उम्मेदवार बन्न लागेका हुन्। शेखर पक्षले सभापति देउवासमक्ष आफ्नो समूहलाई चार सिट दिनुपर्ने माग गरेपनि ३ सिटमा चित्त बुझाएको छ।
पार्टी निर्णयमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने लिखितरुपमा फरक मत राखेका छन्।
केन्द्रीय समिति बैठकले अहिलेसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाए पनि त्यसअनुसार नभएको थापाको भनाइ छ ।
यस्तै, मधेसमा मधेसी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बलबहादुर केसीले पनि लिखित असहमति जनाएका छन।
आगामी माघ ११ गते राष्ट्रियसभा २० स्थानका लागि हुने निर्वाचनको आज मनोनयन दर्ता हुँदैछ।