राष्ट्रियसभाका लागि बागमतीमा एमालेबाट चौलागाईंले गराइन् उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि एमाले नेतृ रोचकुमारी चौलागाईंले उम्मेदवारी दर्ता गराएकी छन्।
सोमबार बागमती प्रदेशको राजधानी हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर दोलखाकी चौलागाईंले मनोनयन दर्ता गराएकी हुन्।
एमाले मकवानपुरका संगठन विभाग प्रमुख हिदम लामाको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशका चार सदस्यको पद आगामी फागुन २० गते सकिँदै छ।
यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको कार्यकाल सकिन लागेको हो।