जिल्ला समन्वय समितिकै वेभसाईट हुँदैन अपडेट
आफ्नै कार्यालयको नाक अगाडी रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा फेरिएका प्रमुख जिल्ला अधिकारीका बारेमा समेत जिल्ला समन्वय समितिलाई जानकारी नभएको देखिन्छ । विदाई र स्वागत भने समन्वय समिति आफैले गर्दै आएको छ ।
विकास तिमल्सिना
धुलिखेल
जिल्ला समन्य समिति काभ्रेको वेभसाइट महिनौंदेखी अद्यावधिक ‘अपडेट’ नगरेको पाईएको छ । सार्वजनिक कार्यालयबाट प्रवाह हुने सेवा, प्रगति प्रतिवेदन, संपर्क नम्बर लगायत महत्वपुर्ण जानकारी नागरिकसम्म पु¥याउने सबैभन्दा भरपर्दो, सजिलो र छिटोे माध्यमका रुपमा लिइने वेभसाईट प्रयोग विहिन भएको हो । जिल्ला समन्वय समिति काभ्रेको आधिकारिक वेभसाइट (dcckavre.gov.np) मा जिल्ला स्थित अधिकांश कार्यालयका प्रमुखको विवरण चार महिनादेखी अद्यावधिक गरिएको छैन ।
जिल्ला समन्वय समिति काभ्रेको वेभसाइटमा विषयगत कार्यालय अन्तर्गत सुरुमै जिल्ला प्रशासन कार्यालय काभ्रेको नाम छ । जहाँ प्रमुख जिल्ला अधिकारीको नाम पुण्यविक्रम पौडेल उल्लेख छ । जबकी पौडेल सरुवा हुनुभएको चार महिना भईसकेको छ । पौडेल हाल धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुन । अहिले काभ्रेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा छन । तर जिल्ला समन्वय समिति काभ्रेको वेभसाइडमा उनको नाम अद्यावधिक भएको छैन । सहायक प्रमुख जिल्ला अधिकारीको नाम र फोटो दुवै राखिएको छैन ।
यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक डिएसपी डुण्डीराज न्यौपाने उल्लेख छ । तर न्यौपानेको सरुवा भईसकेको छ । हाल जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारीको जिम्मेवारीमा डिएसपी राजकुमार श्रेष्ठ रहेका छन् । आफ्नै कार्यालयमा परिवर्तन भएका समन्वय अधिकारीको नाम भने बदलिएको छ । अहिले समन्वय अधिकारीका रुपमा दिवाकार भुजेल कार्यरत छन् ।
यस्तै वेभसाइडमा जिल्ला अदालत काभ्रेपलाञ्चोक अन्तर्गत मोहनराज भट्टराई जिल्ला न्यायाधीश, स्रेस्तेदार गोविन्दप्रसाद घिमिरे, तहशिलदार शेषराज दाहाल उल्लेख छ । तर जिल्ला अदालत काभ्रेमा अहिले राजेन्द्र नेपाल जिल्ला न्यायाधीश, कर्णबहादुर राई स्रेस्तेदार र कविता दाहाल तहसिलदारको जिम्मेवारीमा छन् ।
यस्तै पुर्वाधार विकास कार्यालय लगायतका कार्यालयका प्रमुख परिवर्तन भए पनि वेभसाइटमा अद्यावधिक गरिएको छैन ।
त्यति मात्रै होइन, कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका सुचना अधिकारी थर्क बहादुर जि.सि उल्लेख छ । तर जि.सि को निधन भइसकेको छ ।
वार्षिक प्रगति प्रतिवेदन, चौमासिक प्रगती प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अनुगमन प्रतिवेदन, सार्वजनिक सुनुवाई, सामाजिक परक्षण प्रतिवेदन वेभसाइडमा राखिएको छैन । जिल्लामा रहेका कार्यालय प्रमुख र सुचना अधिकारीको विवरण र संपर्क नम्बर अद्यावधिक नगर्दा सास्ती भएको नागरिकले गुनासो गरेका छन । जिल्ला समन्वय समिति काभ्रे जस्तै जिल्ला स्थित सरकारी कार्यालय, स्थानीय तहहरुले समेत वेभसाइट अद्यावधिक नगरेको पाइएको छ । कार्यालयका सूचना अधिकारी मिलन कार्कीका अनुसार समन्वय समितिको बेभसाईट विविध कारणबाट अपडेट नभएको हो । आफु भर्खरै नियुक्ति भएकाले त्यो बारेमा त्यति जानकारी नभएको बताए । साउन देखि सूचना प्रविधि अधिकृतको दरवन्दी हटेको छ तर पनि कार्यालयले आन्तरिक ब्यवस्थापन गरेर सूचना प्रविधि अधिकृतको जिम्मेवारीलाई निरन्तरता दिएको छ । तर पनि कार्यालयको पेज भने अपडेट छैन ।
सार्वजनिक सेवालाई पारदर्शी, सेवामूलक र जानकारीमूलक बनाउन वेभसाइट प्रभावकारी माध्यम भए पनि समयमै अद्यावधिक नगर्दा वेभसाइट प्रयोग विहिन बनेका छन् । स्वत प्रकाशन गर्नुपर्ने पर्ने सुचना समेत सरकारी कार्यालयले प्रकाशन गर्ने गरेका छैनन ।