नव प्रतिभा माध्यमिक विद्यालय पाँचखालको ३६ औं बार्षिकोत्सव

लक्ष्मण तिमल्सिना
पाँचखाल
पाँचखाल नगरपालिका वडा नम्वर ६ ढुंगानाबेशीमा रहेको नभ प्रतिभा शैक्षिक प्रतिष्ठान गुठीद्वारा संचालित नव प्रतिभा माध्यमिक विद्यालयले स्थापनाको ३६ औं बार्षिकोत्सव एवमं एसईई २०७९ समुहका शिक्षक विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरजकुमार पराजुलीको अध्यक्षतामा रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले पाँचखाल क्षेत्रको शैक्षिक उन्नती र प्रगतिका लागि नगरपालिकाले शिक्षकहरुको दरवन्दी मिलान, विद्यालयको आवश्यकता अनुसारको शिक्षक तथा कर्मचारी ब्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुका लागि तालिम लगायतका शैक्षिक कार्यक्रमहरु, प्रर्दशनी तथा मेला आयोजना गरिएको बताए । सामुदायिक र नीजि विद्यालय बीचको भिन्नता आउन नदिन सामुदायिक विद्यालयहरुलाई पनि पर्याप्त सेवा सुविधाका लागि नगरपालिकाले आवश्यक पहल गरेको नगर प्रमुख खरेलले बताए ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले समुदायले देउसी भैलो खेलेर संचालन गरिरहेको उक्त विद्यालयले शैक्षिक क्षेत्रमा अलग्गै छाप राखेको बताए । जिल्लाको पहिलो सार्वजनिक गुठीद्वारा संचालित उक्त विद्यालयले एसएलसी तथा एसईई लगायतका कार्यक्रममा जिल्लामा उत्कृष्टता हासिल गर्दै आएको छ । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको नव प्रतिभा स्कुलले २०७९ सालको शैक्षिक सत्रसम्म ४ सय १५ जनालाई एसईई उर्तिण गराएको छ । जसबाट चार जना विद्यार्थीले इन्जिनियरिङ्ग विषयमा दक्षता हासिल गरिसकेका छन् भने १० जना नीजामति सेवामा कार्यरत छन् । त्यस्तै ४२ जनाले उच्च शिक्षा अध्ययन पुरा गरेका छन् । प्राविधिक तथा नमुना शिक्षा प्रदान गरिरहेको उक्त विद्यालयले पाँचखाल क्षेत्रमा मात्रै जिल्लामै नमुना विद्यालयको रुपमा स्थापित गराएको प्रिन्सिपल न्यौपानेले बताए ।
बार्षिकोत्सव कार्यक्रममा उपप्रमुख सुर्यमाया दनुवार, शिक्षा शाखा प्रमुख उदय कोईराला, सार्वजनिक शैक्षिक गुठी विद्यालय सघ नेपालका केन्द्रीय सचिव अन्जित कुमार श्रेष्ठ, कोषाध्यक्ष जयराम गोर्खाली, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, गुठी संचालक अध्यक्ष इश्वरीराजकुमार मैनाली, पुर्व प्रिन्सिपल बैकुण्ठ न्यौपाने, अक्षयकोषदाता रामहरी आचार्य, उद्धव थापा, दिलिप थापा, तिनपिप्ले युवा क्लवका अध्यक्ष तथा पुर्व विद्यार्थी सरोज धिताल लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । विद्यार्थी आयुस्मा न्यौपानेको स्वागत रहेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सन्देश मुलक नाटक सचेतना प्रस्तुत गरेका थिए भने नृत्य तथा गित सहित रचनात्मक कृयाकलाप प्रस्तुत गरेका थिए ।

एसईई २०७९ समुहका विद्यार्थीहरुलाई सम्मान सहित विदाई गरिएको कार्यक्रममा विद्यालयमा उत्कृष्ट विद्यार्थीहरु कक्षा ६ का छात्र श्रवण राई र कक्षा ९ की छात्रा प्रतिज्ञा पौडेललाई सम्मान गरिएको थियो । अक्षयकोष दाताको तर्फबाट एसईई उर्तिण छात्रा प्रसना गौतम र छात्र दिवश पन्तलाई सम्मान गरिएको थियो भने कक्षा ४ अध्ययन गर्ने छात्रा प्रमिला दनुवार र छात्र सुगम दनुवारलाई छात्रबृत्ति उपलब्ध गराईएको थियो । त्यस्तै कक्षा ७ अध्ययन गर्ने निरा दनुवार र अभिषेक चौलागाईलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।