अफ्रिकी मुलुकमा हैजा फैलिँदा २ सय २२ जनाको मृत्यु
अफ्रिकी मुलुक जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ। गत अक्टोबरबाट फैलिएको हैजाबाट संक्रमितको संख्या ५ हजार ४ सय बढी पुगेको छ।
संक्रमणबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ। पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको जाम्बियाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
जाम्बियाका १० प्रान्तमध्ये सात वटामा हैजा फैलिएको र प्रभावित जिल्ला ३१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हैजा संक्रमितहरुको संख्या थेगिनसक्नु भएपछि बिरामीहरुलाई रंगशालामा राखेर उपचार गर्ने गरिएको छ।