कोशीमा सभामुखको निर्वाचन आज हुँदै

कोशी प्रदशसभाले आज सभामुख पाउने भएको छ। प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ।

उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउने सहमति भएको जानकारी दिइन्।

सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि साउन १६ गतेदेखि कोशी प्रदेशमा सभामुख पद रिक्त छ। सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय यसअघि नै गरिसकेको छ। योसँगै राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने भएको छ।

यसैबीच नेकपा एमालेले पनि सत्तारुढ गठबन्धन दलभन्दा बाहिरबाट एकल उम्मेदवारी परे सघाउने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले एमालेले उम्मेदवार उठाउने परिस्थिती नरहेकाले गठबन्धनमा आबद्ध बाहेकका दललाई समर्थन गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। योसँगै राप्रपाका बिष्ट सभामुखमा निर्विरोध निर्वाचित हुने देखिएको छ।