कैलासकुमार पाण्डेयको कविता संग्रह ‘एकलब्यको देशमा’ सार्वजनिक
काठमाडौं/ लामो समयदेखि गीत,गजल,कविता तथा साहित्यका अन्य विधामा कलम चलाइरहेका कैलासकुमार पाण्डेयको छैटौं कृति प्रकाशित भएको छ। ‘एकलब्यको देशमा’ नामाकरण गरिएको सिमान्त मुद्दामा आधारित कविता संग्रह सम्पादन हाउस काठमाडौले प्रकाशन गरेको हो।
सुदूरपश्चिम साहित्य समाज धनगढीले आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा प्रदेश प्रमुख देवराज जेशीले संग्रहको विमोचन गरेका थिए। यस अघि भारत उत्तराखण्ड,पिथौरागढ स्थित एच. डि. बी बालिका कलेजमा आयोजित इण्डो नेपाल काब्योत्सवमा लोकार्पण गरिएको थियो।
उक्त काब्योत्सवमा कवि पाण्डेयलाई वाग्देवी काब्य सम्मानबाट सम्मान पनि गरिएको थियो। ७२ कविता समेटिएको संग्रह आधुनिक कवितामा निकै ओज पूर्ण रहेको छ। सिमान्त बस्ती,समुदायको मुद्दालाई जबर्जस्त रूपमा कवितामा प्रस्तुत गरिएको छ।
गाउँ, गाउँले परिवेश ,समाज तथा सामाजिक रीतिरिवाज र राजनीति विषय वस्तुलाई समेटिएको छ। कवि पाण्डेयका बिर्सिएका नाउँहरु गीति संग्रह ,बादलका बुट्टाहरु,नयाँ नयां सागरहरु गजल संग्रह , भत्केका स्तम्भहरु,आकाश छुने रहर कविता संग्रह प्रकाशित भइसकेका छन। पाण्डेयका गीत,गजल,कविता संगै थुप्रै फुटकर रचना प्रकाशित छन्।
उनका हरेक कविताको भाव ,शैली, वान्कीमा नयाँ पन पाइने पाठकहरूले प्रतिक्रिया जनाएका छन्।
काब्यिक संरचना नभए पनि काब्यको भावभंगी पाइन्छ। कविता संग्रहमा जीवन, समाज,धर्म,अर्थ,काम मोक्ष,सबै जोडेका छन्। कवि पाण्डेयले पूर्विय दर्शनको ज्ञान पनि कविताहरूमा झल्काएका छन्। मदन पुरस्कार विजेता डा. नवराज लम्सालले संग्रहको भूमिकामा नेपाली कविताको क्षेत्रमा गहकिलो कृतिको रूपमा यस लाई उल्लेख गरेका छन्।






