पनौती बजार क्षेत्रलाई खुल्ला सङ्ग्रहालय घोषणा गर्न माग
विकास तिमल्सिना
पनौती नगरपालिका वडा नम्बर ७ ले पनौती बजार क्षेत्रलाई खुल्ला सङ्ग्रहालय घोषणा गर्न माग गर्दै नगरपालिकालाई पत्र लेखेको छ । पनौती नगरपालिकाको ७ नं. वडाको पनौती नगर क्षेत्र ऐतिहासिक, पुरातात्विक, एवं धार्मिक महत्वका थुप्रै कला संस्कृति, धार्मिक पर्व, पुजा, उत्सव, जात्रा, गुठी, भजन जस्ता मुर्त एवं अमुर्त सम्पदाले भरिपुर्ण भएकाले यस क्षेत्रको जगेर्ना तथा संरक्षण गर्न समेत खुल्ला सङ्ग्रहालय घोषणा गर्न माग गरिएको वडा कार्यालयले जनाएको छ ।
यो क्षेत्रलाई विश्व सम्पदा सुचीमा समावेश गर्न समेत उक्त कार्यले सघाउने भन्दै वडा अध्यक्ष सविन ताम्राकारले आवश्यक पुर्वाधारको व्यवस्था गरि खुल्ला सङ्ग्रहालय घोषणा गर्न नगरप्रमुख रामशरण भण्डारीलाई पत्र लेखेका छन् ।
पनौती संरक्षित स्मारक क्षेत्रको भागलाई खुल्ला संग्राहलयको रुपमा घोषणा गर्न उपयुक्त देखिएको वडा कार्यालयको ठहर छ । खुल्ला संग्राहलय घोषणाका लागि मठ, मन्दिर, पाटी पौवा मर्मत सुधार, रंगरोगन, चारै दिशामा आवश्यक द्धार र काउन्टरको व्यवस्था, पर्यटन मैत्री शौचालय, विभिन्न स्थानमा विश्राम स्थल र डस्टविनको व्यवस्था गर्नुपर्ने वडा कार्यालयले औंल्याएको छ ।
यस्तै विभिन्न स्थानमा कफी हाउस र पार्किङको व्यवस्था, बगैंचा निर्माण तथा सजावट, पर्यटन सुचना केन्द्र, फोहोरमैला व्यवस्थापन लगायतका कार्य गर्न आवश्यक रहेको भन्दै वडा कार्यालयले नगरपालिकाको सहयोगको अपेक्षा गर्दै पत्र लेखेको हो ।