‘लिटिल बुद्ध’ बताउने तपस्वी रामबहादुर बमजन पक्राउ
तपस्वी रामबहादुर बमजन पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप उनीमाथि छ।
‘तपस्वी’ रामबहादुर बमजनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले उनको घरमा २०७७ सालमा सूचना टाँस गरेको थियो। तर उनी अदालतमा उपस्थित भएका थिएनन्। फरार रहँदै आएका थिए।
उनी फरार भएपछि बाराको निजगढ नगरपालिका १२ रतनपुरीस्थित बमजनको पुर्खौली घरमा तत्कालीन वडाध्यक्षको रोहबरमा सूचना टाँसिएको थियो।
एक आनीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदातलमा बमजनविरुद्ध मुद्दा दायर भएको छ।
सोही मुद्दामा बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो।
रौतहटकी ती आनीले आश्रममा बस्दा बमजनले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्। बलात्कारसहित बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको आरोप पनि छ।
पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बमजन प्रहरीको फरार सूचीमा छन्। सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारा लगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बमजनलाई फेला पार्न सकेको थिएन।
सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका ‘तपस्वी’ बमजन आनीमाथि बलात्कार र आफ्नै अनुयायीलाई हत्या हिंसा गरेको आरोप लागेपछि फरार थिए।